विराटनगर । मानव शरीरको महत्वपूर्ण अंग आँखा नहुँदा सबै अन्धकार हुन्छ । संसार हेर्न, रंग र आकृति छुट्याउन अनि दैनिक जीवनका गतिविधिहरू सम्पादन गर्न यसले हरेक समय सहयोग गरेकै छ ।
त्यही भएकाले आँखाको सुरक्षामा ध्यान दिनुपर्ने चिकित्सक बताउँछन् । त्यति मात्रै होइन, आँखामा केही भइहालेमा तत्काल चिकित्सकको सम्पर्कमा पुग्नुपर्छ । उपचार गराउनुपर्छ । आँखाको नियमित चेकजाँच गराइरहनु पर्छ ।
आँखाको उपचारका लागि धेरै अस्पतालहरू सञ्चालनमा छन् । विभिन्न अस्पतालमध्ये सिमावर्ती क्षेत्र विराटनगर महानगरपालिका–१५ स्थित रानी आँखा अस्पताल पछिल्लो समय आँखाका बिरामीको आशा र भरोसाको केन्द्र बन्दै गएको छ । बिरामीहरूको गन्तव्य मात्र नभइ छिमेकी मुलुक भारतबाट समेत आउने स्वास्थ्य पर्यटकहरूको रोजाइमा पर्न थालेको छ ।
अस्पतालका वरिष्ठ नेत्र रोग तथा कोर्निया विशेषज्ञ डा. अभिषेक सुवालका अनुसार रानी आँखा अस्पतालमा दैनिक मोतियाविन्दु, मासु पलाएको र नली बन्द हुने जस्ता समस्याको शल्यक्रिया गरिन्छ । आँखासम्बन्धी सामान्य र जटिल समस्याको उपचार हुने उनले बताए । त्योबाहेक औषधि, थेरापी र ‘एक्सरसाइज’मार्फत पनि उपचार गरिन्छ ।
रानी आँखा अस्पतालले आँखाको उपचारका लागि उत्कृष्ट अस्पतालको पहिचान बनाउन सफल भएको डा. सुवाल बताउँछन् । ‘यहाँ आँखाको सामान्यदेखि जटिल उपचार हुन्छ । दृष्टि गुमेर उपचारका लागि पुगेकाहरूको दृष्टि फर्किएको छ । जीवन बदलिएको छ । खुसी फर्किएको छ,’ उनले भने ।
अस्पतालमा उपचारका लागि पुग्नेहरू सहज र सरल ढंगले सेवा पाउँदा खुसी हुन्छन् । सामान्य खर्चमै आँखाको जटिल उपचार पाउने वातावरण बनाइएको डा. सुवालको भनाइ छ ।
अस्पतालले आँखाको शल्यक्रियाका लागि अत्याधुनिक उपकरण एवं मेसिनको व्यवस्था गरेको छ । बिरामीले इन्जेक्सन नदिइकन र पीडाबिनै उपचार पाउने गरेका छन् । ‘जटिल समस्या भएका बिरामीले पनि अप्रेसनपछि भोलिपल्टै संसार देख्न थाल्छन्,’ उनले भने । आँखाको दृष्टिसँगै खुसी फर्काउने अतुलनीय योगदानका लागि डा. सुवालसहितको टिमले अहोरात्र काम गरिरहेको छ ।
रानी आँखा अस्पतालमा नेपालका मात्रै होइनन्, भारतका विभिन्न ठाउँबाट पनि उपचारका लागि बिरामीहरू आउने गरेका छन् । अस्पतालले दिने सुविधा र सेवाका कारण बिरामीहरू आकर्षित हुने गरेका छन् ।
विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा र मानवतासहितको सुविधा एवं अत्याधुनिक उपकरणबाट सहजै उपचार पाइने भएकाले बिरामीका लागि आँखा अस्पताल आकर्षणको केन्द्र बनेको हो । उत्कृष्ट व्यवस्थापन, सरसफाइ, आवश्यक सुविधा र विशेषज्ञ चिकित्सकबाट हुने सेवा प्रवाहकै कारण भारतबाट समेत बिरामी आउने गरेको अस्पतालकी प्रशासन प्रमुख प्रतीक्षा बास्तोलाले बताइन् ।
उनका अनुसार उपचारका लागि आउने बिरामीहरू सहज, सरल र थोरै पैसामा उत्कृष्ट सेवा पाएकोमा खुसी व्यक्त गर्छन् । अस्पतालले गरिब बिरामीलाई सिफारिस लिएर आएमा ५० प्रतिशतभन्दा बढी छुट दिने गरेको छ । बिरामीको अवस्था हेरेर कहिलेकाहीँ त पूर्णरूपमा निःशुल्क उपचार पनि गर्छ । अहिलेको चर्को गर्मीमा पनि अस्पतालको वातावरण शान्त र शीतल रहेको बास्तोलाको भनाइ छ ।
‘गर्मीको सिजनमा अप्रेसन गाह्रो हुन्छ भन्ने सबैको बुझाइ छ । तर, हामीसँग एसीसहितको क्याबिनहरू छन् । जसका कारण आँखाको अप्रेसन गराएका बिरामीलाई पसिनाका कारण संक्रमणको डर पनि हुँदैन,’ डा. सुवालले भने । सुवाल आफैं वरिष्ठ कोर्निया विशेषज्ञ हुन् ।
उनकै नेतृत्वमा कोर्निया ट्रान्सप्लान्ट, अल्सर, इन्फेक्सनका केसहरूको उपचार हुन्छ । रानी आँखा अस्पतालमा सबैभन्दा सामान्य अप्रेसन मोतियाविन्दु, मासु पलाएको र डीसीआर हुन् । यी सबैजसो उपचार सफल भएका छन् । जटिल केसका लागि राजधानी वा ठूला अस्पतालमा रेफर गरिन्छ । तर, बिरामीले चाहेमा रानी आँखा अस्पतालमै विशेषज्ञ बोलाएर उपचार गराउने गरिएको डा. सुवालको भनाइ छ ।
अस्पतालले आँखाको समस्या भएकाको उपचार मात्रै होइन, १०० जना बढीलाई रोजगारीसमेत दिएको छ । हुन त विराटनगरलाई ‘हेल्थ टुरिजम’ एरियाका रूपमा पनि चिनिन्छ । भारतबाट मानिसहरू उपचारका लागि आउने र विदेशी मुद्रा भित्रिने सुवालले बताए ।
देशको विकासमा सानो हिस्सा दिन पाउँदा पनि डा. सुवाल गर्व गर्छन् । ‘दृष्टि मात्र फर्काउने होइन, विश्वास, सन्तुष्टि र भविष्य फर्काउने योजना हामीले बोकेका छौं । हामी सबैको पहल र प्रयत्नबाटै नै आँखाको उपचार प्रभावकारी बन्दै गएको छ,’ डा. सुवालले भने ।
‘आँखा हाम्रो जीवनको ज्योति हो । यसले हामीलाई संसार देख्न, बुझन् र अनुभूति गर्न मद्दत गर्छ । त्यसैले आँखाको हेरचाह गर्नुपर्छ,’ उनी भन्छन् । सही सल्लाह, स्वस्थ जीवनशैली र नियमित परीक्षणमार्फत आँखालाई जीवनभर स्वस्थ राख्न सकिने उनले बताए ।
अस्पतालका नेत्र रोग विशेषज्ञ डा. जितेन्द्रकुमार सिंह रानी आँखा अस्पताल आँखाबाट हराउँदै गएको उज्यालो फेरि फर्काउने केन्द्र बनेको बताउँछन् । ‘यहाँ आँखासम्बन्धी साना–ठूला सबै समस्या लिएर आउने बिरामीहरू उपचार पाउँछन्, सेवा पाउँछन् र सँगै विश्वास पनि फर्काएर जान्छन्,’ उनले भने ।
उनका अनुसार अस्पतालले बिरामी केन्द्रित सेवा दिइरहेको छ । ‘भारतबाट दैनिक बिरामी आउनुहुन्छ । उहाँहरू उपचार गराएर फर्कनुहुन्छ अनि फेरि अर्को बिरामी पठाउनुहुन्छ,’ डा. सिंहले भने, ‘यसलाई हामी हेल्थ टुरिजम भन्छौं । नेपाली अस्पताललाई विश्वास गरेर विदेशी बिरामी आउँछन्, उपचार गर्छन् । यसलाई देशको आर्थिक प्रगतिको एउटा आधार ठान्न सकिन्छ ।’
डा. सुवाल दृष्टि गुमाइसकेको मान्छेले फेरि देख्न थाल्दा उसले दिएको मुस्कान भन्दा ठूलो पुरस्कार अरु केही नहुने बताउँछन् । ‘हामी अस्पतालमा डाक्टर भेट्नकै लागि घण्टौं लाइन बस्नुपर्ने र डाक्टरसँग राम्ररी कुरै गर्न नपाइने बाध्यतालाई तोड्न चाहन्छों । हरेक बिरामीलाई व्यक्तिगत रूपमा समय दिएर उपचार गर्छौं,’ उनले भने ।
भौतिक संरचना र सुविधाको हिसाबले पनि अस्पताल उदाहरणीय बनेको छ । गर्मीमा एसीयुक्त वार्ड, जाडोमा ब्ल्याङ्केटको व्यवस्था, धुलो र प्रदूषणबाट बिरामीलाई जोगाउने पूर्वाधार निर्माण त्यहाँको विशेषता हो । ‘पसिना आँखामा गयो भने संक्रमणको खतरा हुन्छ । त्यसलाई ध्यानमा राखेर हामीले पूरै अस्पताललाई वातानुकूलित बनाएका छौँ,’ डा. सुवाल भन्छन् ।
स्वास्थ्य सेवा मात्र नभई स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने र ‘हेल्थ टुरिजम’लाई प्रवर्धन गर्ने उद्देश्इ अस्पतालले रहेको प्रशासन प्रमुख बास्तोलाको भनाइ छ । उनका अनुसार अब रेटिना, अकलोप्लास्टिक लगायत आँखाका थप सब–स्पेसलाइजेसन सेवा विस्तारको तयारी छ । बास्तोलाले अहिलेको स्वास्थ्य प्रणालीमा मात्र नभइ समाज परिवर्तनको एउटा चम्किलो दृष्टान्त बन्ने लक्ष्य अस्पतालको रहेको बताइन् ।