
इलाम । प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको माई नगरपालिकामा निर्मित अस्पतालको उद्घाटन गरेका छन् ।
माई नगरपालिका–२ दानाबारीमा निर्मित १५ शय्याको ‘माई नगर अस्पताल’को उद्घाटन शनिबार उनले गरेका हुन् । नगर प्रमुख खम्बासिंह लिम्बूका अनुसार आर्थिक वर्ष २०७७–०७८ देखि निर्माण सुरु भएको अस्पताल संघीय सरकारको सहयोगमा १० करोड ७० लाख २४ हजार रुपैयाँ खर्च भएको छ ।
साढे १० रोपनी क्षेत्रफलमा पार्किङसहित २ तलाको अस्पताल निर्माण गरिएको छ । नवनिर्मित अस्पताल भवनबाट शनिबारदेखि नै स्वास्थ्य सेवा सुरु भएको घोषणा गरिएको छ । २४ सै घण्टा सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको माई नगर स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले बताए ।
अस्पतालमा आकस्मिक, आधारभूत प्रयोगशाला, एक्स–रे, भिडियो एक्स–रे, इसिजी, फार्मेसीलगायतका सेवा उपलब्ध छन् । अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रमसमेत लागू गरिएको छ ।

























