
विराटनगर । झापा दमकको एक होटेलमा बिहीबार दिउँसो ग्यास लिक भई आगलागी भएको छ ।
दमक नगरपालिका –६ मा सुरेशकुमार थापाको जग्गामा दिलमाया लावतीले सञ्चालन गर्दै आएको सेवारो होटेलमा ग्यास लिक भई आगलागी भएको झापा प्रहरीले जनाएको छ ।
लावतीले थापाको जग्गामा टिनको छानो टिनकै बेराले बनाएको १ तले कच्ची घरमा सेवारो होटेल सञ्चालन गर्दै आएकी थिइन् ।
प्रहरीका अनुसार होटेलमा खाना पकाउने क्रममा सिलिन्डरबाट ग्यास चुहावट हुँदा सिलिन्डर पड्किएर आगलागी भएको हो ।
आगलागीबाट होटेलभित्र रहेको लत्ताकपडा, खाद्यान्न, फ्रिज ३ थान, ग्यास सिलिन्डर ८ थान, इन्भर्टर २ थानसहित घर पूर्ण रूपमा क्षति हुँदा करिब १३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, सोही आगलागीबाट ज्ञानु रिजालको पक्की २ तले घरको पछाडितर्फको झ्यालको सिसा ७ वटा र घरभित्र रहेको लत्ताकपडा जलेर नष्ट हुँदा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
दमक, कमल गाउँपालिका, उर्लाबारीको दमकलका साथै प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

























