
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)सँगको विवादपछि नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रमुख प्रशिक्षक प्याट्रिक डे वाइल्डले पदबाट राजीनामा दिएका छन्। एन्फा स्रोतका अनुसार उनको राजीनामा पत्र केही दिनअघि इमेलमार्फत संघमा आएको हो।
बेल्जियमका प्रो लाइसेन्सधारी प्रशिक्षक प्याट्रिक डे वाइल्डलाई नेपाली महिला टिमको मुख्य प्रशिक्षकका रूपमा जेठ २२ गते नियुक्त गरिएको थियो। तर, उज्बेकिस्तानमा सम्पन्न एएफसी महिला एसियन कप छनोटको क्रममा कप्तान चयन लगायतका विषयमा एन्फासँग उनको तीव्र मतभेद देखियो।
उज्बेकिस्तानमै रहेका बेला उनले सार्वजनिक अन्तर्वार्तामार्फत एन्फामाथि एकतर्फी निर्णय गर्ने, समन्वयविहीन र असहयोगी व्यवहार गरेको आरोप लगाएका थिए। त्यसपछि उनले नेपाल नफर्किने घोषणा गर्दै सीधै आफ्नो देश बेल्जियम फर्किएका थिए। उनले अन्तर्वार्तामा भनेका थिए, ‘एन्फा सुधारिए मात्र म नेपाल फर्कन्छु । यतिबेला त्यस्तो सम्भावना देखिएको छैन।’
उता, एन्फाले भने पत्रकार सम्मेलन गर्दै कप्तान चयन प्रक्रिया प्रशिक्षकले एकलौटी रूपमा अघि बढाएकाले विवाद उत्पन्न भएको दाबी गरेको थियो। प्रशिक्षक प्याट्रिकको भूमिकामाथि प्रश्न उठाउँदै एन्फाले उनलाई स्पष्टिकरण माग्दै पत्रसमेत पठाएको थियो। सोही पत्रको जवाफस्वरूप प्याट्रिकले एन्फामा औपचारिक राजीनामा बुझाएका हुन्।
उज्बेकिस्तानमा सम्पन्न एसियन कप छनोट प्रतियोगितामा नेपालले श्रीलंका र लाओसमाथि प्रभावशाली जित हात पारे पनि घरेलु टोली उज्बेकिस्तानसँग ३–३ को रोमाञ्चक बराबरीपछि टाइब्रेकरमा पराजित हुँदै छनोट चरण पार गर्न असफल भएको थियो। त्यो खेलमै कप्तान चयन, रणनीतिक व्यवस्थापन र भित्रभित्रैको समन्वय अभावले नेपाली टोलीको मनोबलमा असर परेको टिप्पणी गरिँदै आएको थियो ।
डे वाइल्डको कार्यकाल छोटो भए पनि उनले महिला टिमलाई प्रतिस्पर्धात्मक बनाउन प्रयास गरेको बताइन्छ। तर, नेतृत्व तहमा स्पष्ट निर्देशन र सहयोगको अभावका कारण उनले मनोबल गुमाएको बुझिएको छ।
यो घटनाले नेपाली महिला फुटबलको प्रशासनिक संरचना र नेतृत्व पद्धतिप्रति फेरि एकपटक गम्भीर प्रश्न उठाएको छ। प्रशिक्षकको राजीनामासँगै नेपाली महिला टिम अहिले नेतृत्वविहीन बनेको छ। आगामी योजना, प्रशिक्षण तालिका र अन्तर्राष्ट्रिय तयारीसम्बन्धी अन्योलता कायमै छ।
एन्फाले नयाँ प्रशिक्षकको छनोट कहिले र कसरी गर्ने भन्नेबारे कुनै औपचारिक जानकारी दिएको छैन। तर, हालको परिस्थितिमा आन्तरिक समन्वय र पारदर्शितामाथि उठेका प्रश्न समाधान नगरी प्रशिक्षक फेरिँदैमा दीर्घकालीन सुधार सम्भव नहुने खेल क्षेत्रका अगुवा बताउँछन् ।

























