
काठमाडौं । काठमाडौं जिल्ला तेक्वान्दो संघले १० औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जी ४) मा सहभागी हुने ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोलीलाई शनिबार बिदाइ गरेको छ ।
मलेसियाको कुचिङमा हुने प्रतियोगितामा ५ जना नेपाली खेलाडीले साउन १६ गते प्रतिस्पर्धा गर्ने छन् । टोली साउन १३ गते मलेसिया जाने छ ।
५ जना खेलाडीले के–४४ क्याटगोरीअन्तर्गत विभिन्न तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुष ५८ केजी मुनि ओलम्पियन भरतसिंह महत तथा ६३ केजी मुनि अमिर भ्लोनले प्रतिस्पर्धा गर्ने छन् ।
महिला ५७ केजी मुनि पेरिस पारा ओलम्पिक तथा चौथो एसियाली पारा खेलकुदकी ऐतिहासिक कांस्य विजेता पलेशा गोवर्धन तथा ४७ केजी मुनि कामना प्रसाईं र रेणु तामाङले खेल्ने छन् ।
चीनको सांघाईमा अध्ययन गरिरहेकी पलेशा त्यहीँबाट मलेसिया जाने छिन् ।
पारा तेक्वान्दोका सफल प्रशिक्षक कविराज नेगी लामाले यो प्रतियोगितामा पनि प्रशिक्षकको भूमिकामा छन् । व्यवस्थापकमा रामचन्द्र श्रेष्ठ रहेका छन् ।
प्रशिक्षक लामाले वरियता सुधार गर्न प्रतियोगिता महत्त्वपूर्ण भएको बताए । नेपालले सुरुको संस्करणदेखि निरन्तर प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ ।
हालसम्म नेपालले १ रजत र ५ गरी ६ पदक जितेको प्रशिक्षक लामाले जनाएका छन् । रञ्जना धामीले रजत र कांस्य जितेकी छन् । पलेशा, अरुण शाक्य, सीता भण्डारी र रोहितहाङ राईले कांस्य प्राप्त गरेका छन् ।
टोलीलाई नेपाल च्याम्बर अफ कमर्सअन्तर्गत शिक्षा तथा खेलकुद समितिका अध्यक्ष रूपक राजवंशी र उपाध्यक्ष सुनिता सिंह, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीलगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।
अध्यक्ष राजवंशीले टोलीलाई प्रोत्साहन स्वरुप ५० हजार नगद प्रदान गर्ने घोषणा गरे ।
सोही अवसरमा लायन्स क्लब अफ काठमाडौं तेक्वान्दो नेपाल र लायन्स क्लब अफ काठमाडौं मेरिगोल्डको पहलमा अमेरिकामा बस्दै आएकी पूर्व तेक्वान्दो खेलाडी सुमी परियारले उपलब्ध गराएको ट्रयाकसुट हस्तान्तरण गरिएको थियो ।
काठमाडौं जिल्ला तेक्वान्दो संघले पनि टोलीलाई टिसर्ट उपलब्ध गराएको थियो ।

























