
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर कोदो उत्पादन बढाउनुपर्नेमा जोड दिएका छन् । कोदो दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने निर्णय सरकारले गरेको बताए ।
उनले कोदो परम्परागत खाद्यान्न मात्रै नभई अत्यन्त पोषिलो र स्वास्थ्यका दृष्टिले महत्त्वपूर्ण बाली भएको उल्लेख गर्दै यसको प्रवर्धन जरुरी भएको बताए । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै भने, ‘कोदो हाम्रो परम्परागत खाद्यान्न बाली मात्र होइन, यसको पोषणीय महत्त्व छ । ‘ग्लाइसेमिक इन्डेक्स’ कम हुने भएकाले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न, यसमा हुने फाइबरले हृदय स्वास्थ्य मजबुत बनाउन मद्दत गर्छ । सिँचाइ बिना नै उत्पादन हुन सक्ने यस्तो गुणकारी खाद्यान्नलाई प्रवर्धन गर्न सरकारले यस वर्षदेखि साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने निर्णय गरेको हो । कोदो उत्पादन बढाऔं, कोदोका परिकारहरु उपभोग गरौं ।’
प्रधानमन्त्रीको भनाइ अनुसार कम ग्लाइसेमिक इन्डेक्सका कारण मधुमेह नियन्त्रणमा कोदोको महत्त्व छ भने उच्च फाइबरको मात्रा हृदय स्वास्थ्यका लागि उपयोगी मानिन्छ । यस्तै, पानी र मलजस्ता उच्च लगानी नचाहिने भएकाले कोदो साना किसानहरूको लागि पनि उपयुक्त बाली हो ।
सरकारले यस वर्षदेखि साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवस मनाउन थालेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागको आयोजनामा यो दिवस पहिलोपटक औपचारिक रूपमा मनाइएको छ ।
विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा ‘प्रथम राष्ट्रिय कोदो दिवस मूल आयोजक समिति’ गठन गरिएको छ । ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारासहित दिवस मनाइएको हो ।
कृषि विभागका अनुसार कोदो दिवस मनाउनुको उद्देश्य कोदोजस्ता परम्परागत, सहनशील र पोषणयुक्त बालीको प्रवर्धन गर्नु हो । कोदोजस्तो बालीले जलवायु परिवर्तनसँग जुध्न सक्ने क्षमताका साथै साना किसानहरूको जीविकोपार्जनमा प्रत्यक्ष प्रभाव पार्छ ।
नेपालमा कोदो खेती पहाडी तथा मध्यपहाडी भू–भागहरूमा गरिँदै आएको छ । तर, पछिल्ला वर्षहरूमा सस्तो मूल्य, श्रमघनत्व, नयाँ पुस्ताको खेतीमा रुचि नहुनुजस्ता कारणले कोदो खेतीको क्षेत्रफल घट्दै गएको तथ्यांकले देखाउँछ । यस्तो अवस्थामा कोदो दिवसमार्फत यसको उत्पादन र उपभोगतर्फ आममानसिकता फर्काउने सरकारको प्रयास सकारात्मक मानिएको छ ।
विभिन्न अध्ययनहरूले कोदोमा प्रोटिन, फाइबर, आइरन, क्याल्सियम लगायतका तत्त्व प्रशस्त मात्रामा पाइने देखाएका छन् । परम्परागत रूपमा ढिँडो, रोटी, रक्सी, आटा, लावा जस्ता परिकार बनाइने कोदो आजको आधुनिक खानपान प्रवृत्तिमा समेत पुनःस्थापित गर्न सकिने सम्भावना कृषि विज्ञहरूले औंल्याएका छन् ।
दिवसको अवसरमा विभिन्न जिल्लाहरूमा कोदोको परिकार प्रदर्शनी, खेतीसम्बन्धी प्रविधिको प्रदर्शन, किसान सम्मान तथा पोषणसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरिएको छ । कृषि विभागका अनुसार आगामी वर्षहरूमा कोदो उत्पादन बढाउने योजना बनाइएको छ भने कोदोबाट बन्न सक्ने व्यावसायिक परिकार उत्पादन र बजार विस्तारका लागि छुट्टै रणनीति निर्माण गरिनेछ ।
सरकारको यो निर्णयलाई कृषिविद, पोषणविद् तथा वातावरणविद्ले सकारात्मक रूपमा लिएका छन् । उनीहरूले खाद्य सुरक्षामा संकट देखा पर्न थालेको अवस्थामा स्थानीय र पोषिलो बाली प्रवर्धन गर्नु दिगो विकासको आधार बन्न सक्ने धारणा व्यक्त गरेका छन् ।
उनीहरुका अनुसार कोदो दिवसको घोषणामार्फत सरकारले परम्परागत बालीको संरक्षण, उत्पादनवृद्धि, पोषण सुरक्षाको सन्देश दिएको छ । कोदोले साना किसानको जीवनस्तर उकास्नेसम्मको उद्देश्यसहित सन्देश प्रवाह गर्न खोजिएको छ ।

























