
विराटनगर । अस्ट्रियाको इन्स्ब्रुकमा ‘तेस्रो नेप्लिज युरोपियन भलिबल’ प्रतियोगिता भदौको पहिलो हप्ता हुने भएको छ ।
‘स्वास्थ्य र अनुशासनका लागि खेलकुद’ भन्ने मूल नाराका साथ नेपाल युरोपियन स्पोर्ट क्लब (एनइएससी) ले भदौ ७ गते (अगस्ट २४, २०२५) अस्ट्रियाको इन्स्ब्रुकमा भलिबल प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
युरोपभरि रहेका नेपाली समुदायबीच आपसी भाइचारा, भेटघाट र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्दै आएको एनइएससीका अध्यक्ष दिलकुमार घमालले जानकारी दिए ।
उनका अनुसार ३ वर्षदेखि आयोजना गर्दै आएको प्रतियोगितामा युरोपका विभिन्न देशका नेपाली भलिबल क्लबहरूको सहभागिता हुने गरेको छ ।
प्रतियोगितामा जर्मनीको नेपाल भलिबल क्लब ह्याम्बर्ग, स्विट्जरल्यान्डको हिमालयन स्पोर्ट्स टिम, फिनल्यान्डको हिमालयन स्पोर्ट्स क्लब, नमो बुद्ध स्पोर्ट क्लब र साल्जबर्गको नेपाल कल्चर स्पोर्ट क्लब, नेपाल युरोपियन स्पोर्ट क्लब (एनइएससी) ले अहिलेसम्म सहभागिता हुने बताए पनि केही टोली सहभागिताका लागि सम्पर्कमा रहेको घमालले जानकारी दिए ।
प्रतियोगिताको विजेताले ४ सय ५ युरो, उपविजेताले २ सय ५ युरो, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । तेस्रो हुने टोलीले कप र बल प्राप्त गर्ने छन् ।
एनइएससीका उपाध्यक्ष ख्याम विश्वकर्माले नेपाली समुदायका युवा तथा खेलप्रेमीहरूलाई खेलमार्फत सकारात्मक ऊर्जा र जीवनशैलीतर्फ आकर्षित गर्नुपर्नेमा जोड दिए ।
‘खेलकुद भनेको अनुशासन, परिश्रम र समर्पणको माध्यम हो,’ उनले भने, ‘हामीले भलिबल जस्ता खेलहरूलाई मनोरञ्जनको माध्यम मात्र नभई सामाजिक एकताको आधार बनाउन खोजेका हौँ ।’

























