
काठमाडौं । खेलकुद पत्रकार विष्णु थापाद्वारा लिखित ‘खेलाडी : संघर्षदेखि सफलतासम्म’ पुस्तक विमोचन भएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले पुस्तक विमोचन गरे ।
उनले खेलकुद राष्ट्रको समृद्धि मापन गर्ने महत्त्वपूर्ण कडी भएको बताउँदै यो पुस्तक भावी पुस्ताका लागि प्रेरणाका स्रोत हुनुका साथै महत्त्वपूर्ण दस्ताबेजका रूपमा पनि रहने बताए ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले खेलाडीका विषयमा पत्रपत्रिकामा समाचार आए पनि पुस्तकका रूपमा संग्रहित हुन नसकिरहेको अवस्थामा यो पुस्तकले अरू धेरै पुस्तक लेखनका लागि पनि प्रेरणा दिने बताए ।
उनले खेलाडीका संघर्ष र सफलताका कथाहरू लगातार लेखिनु पर्नेमा जोड दिए ।
कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले खेलाडीका दुःख, पीडा, संघर्ष र सफलताका कथालाई पत्रकारले निरन्तर रूपमा प्रकाशित गर्दै आएको उल्लेख गर्दै त्यसलाई पुस्तकका रूपमा दस्तावेजीकरण गर्नु महत्त्वपूर्ण भएको बताए ।
पुस्तकका लेखक विष्णु थापाले नेपाली खेलकुदका विभिन्न उतारचढाव भोगेका र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चा बटुलेका करिब ५ दर्जन खेलाडीको संघर्ष, सफलता र चर्चालाई समेटेर पुस्तक प्रकाशन गरिएको बताए ।
उनले पत्रकारिताको यात्रा थालेको पुनर्जागरण साप्ताहिकदेखि विभिन्न साप्ताहिक, मासिक, पाक्षिक र दैनिक पत्रिकामा लेखिएका सामग्रीलाई पुस्तकका रूपमा आकार दिएको बताउँदै नेपाललाई पहिलो पदक दिलाउन सफल एउटा सिंगो इतिहासका साक्षी जितबहादुर केसीदेखि पेरिस पारालिम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी पलेसा गोवर्द्धनसम्मको संघर्ष, सफलता र उतारचढावको विषयवस्तुलाई समेटिएको बताए ।

























