
काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) ले आफ्नो २८ औँ वार्षिकोत्सवमा वर्ष उत्कृष्ट पुरुष / महिला खेलाडीलगायतलाई सम्मान गर्ने भएको छ ।
वार्षिकोत्सव बुधबार काठमामाडौंको लाजिम्पाटमा हुनेछ । सोही अवसरमा वर्ष उत्कृष्ट प्रशिक्षक, प्रदेश संघ र जिल्ला संघलाई पनि सम्मान गरिने महासंघका अध्यक्ष प्रवीणकुमार कार्कीले जानकारी दिए ।
गत अगस्ट १९ देखि २६ तारिखसम्म भारतमा भएको १० औँ एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगिताका पदक विजेतालाई पनि सम्मान गरिने छ ।
उक्त प्रतियोगितामा नेपालले २ स्वर्ण र १ कांस्य पदक जितेको थियो । वर्ष उत्कृष्ट पुरुष / महिला खेलाडीलाई नगदसहित सम्मान गरिने अध्यक्ष कार्कीले बताए ।
सम्मान कार्यक्रमअघि बुधबारै महासंघको वार्षिक साधारण सभा पनि हुनेछ ।
विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाउने क्रममा यसअघि महासंघले भक्तपुरको कौशलटारस्थित मानव सेवा आश्रममा आश्रितलाई खाना खुवाएको थियो भने रक्तदान पनि गरेको थियो ।

























