
काठमाडौं । ५ औँ खुला अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय वादोरियो कराँते टोली बुधबार श्रीलंकाको रत्नापुरा जाने भएको छ ।
अगष्ट ७ र ८ तारिखमा हुने प्रतियोगितामा ३ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
पुरुष ८० केजीमुनि पासाङ ग्याल्जेङ थोक्रा, ५२ केजीमुनि निशान घले र ४० केजीमुनि आरोन शेरचनले प्रतिस्पर्धा गर्ने छन् । महिला ६१ केजीमुनि उर्शला पहरी र ५० केजीमुनि अर्पणा मगरले खेल्ने छन् ।
प्रमुख प्रशिक्षकमा नेपाल वादोरियो कराँते डो संघका अध्यक्ष हरिशरण केसी तथा अफिसियलमा राजकुमार कार्की रहेका छन् ।
टोलीलाई पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य अञ्जन धमलालगायतले बिदाइ गर्दै जितका लागि शुभकामना दिए ।

























