मुलुकका ६ प्रदेशमा फैलियो ‘लम्पी स्किन’ : कोशी सबैभन्दा बढी प्रभावित

Share this
626shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ श्रावण २२, बिहीबार ०७:१०

काठमाडौं । गाईभैँसीमा लाग्ने संक्रामक रोग ‘लम्पी स्किन’ नेपालका ६ प्रदेशका २५ जिल्लामा फैलिएको छ । जसका कारण हालसम्म २६ हजार ६ सय ३२ पशु संक्रमित भएका छन् ।

संक्रमितमध्ये ८ सय १६ पशु चौपाया मरिसकेका छन् । पशुसेवा विभागका अनुसार यस रोगका कारण देशभरका किसानले १ अर्ब ३० करोड रुपैयाँ बराबरको क्षति बेहोर्नु परेको छ ।

‘लम्पी स्किन’बाट सबैभन्दा धेरै कोशी प्रदेश प्रभावित भएको छ । कोशीका १२ जिल्लामा फैलिएको रोगले २२ हजार १ सय २२ पशु सक्रमित भएका छन् । प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका अनुसार कोशीमा मात्रै १ अर्ब १ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

मधेश प्रदेशका ८, गण्डकी र कर्णालीका १–१ जिल्लामा ‘लम्पी स्किन’ देखिएको छ । सुदूरपश्चिममा हालसम्म पुष्टि भएको छैन । बागमतीले भने विभागलाई हालसम्म विवरण बुझाएको छैन ।

पशुपन्छी निर्देशनालय विराटनगरका निर्देशक डा. सुशीलकुमार अधिकारीले कोशी प्रदेशमा पशु मृत्युदर २.७ प्रतिशत रहेको र रोग आंशिक रूपमा नियन्त्रणमा रहेको बताए । पशु चिकित्सा परिषद्का उपाध्यक्ष डा. मनोज शाहीका अनुसार रोगले दूध र मासु उत्पादन घटाउने, प्रजननमा असर पार्ने र छालाको गुणस्तर बिगार्ने तथा अन्तिममा पशु चौपाया नै मर्ने अवस्था बन्छ ।

परिषद्का अनुसार एउटा स्वस्थ्य पशुमा लम्पी स्किन देखा परेमा औसत ४९ हजार १ सय ३५ रुपैयाँ बराबरको क्षति हुन्छ । यसैबीच, मधेश, कोशी र लुम्बिनी प्रदेशमा ५ लाखभन्दा बढी स्वस्थ्य पशुमा लम्पी स्किनविरुद्धको खोप लगाइएको छ ।

पशुसेवा विभागकी डा. इन्दिरा शर्माका अनुसार कोशीमा ३ लाख १२ हजार, मधेशमा १ लाख ६७ हजार र लुम्बिनीमा २१ हजार ४ सय ६२ पशुमा खोप दिइएको हो । बागमती, गण्डकी र कर्णालीमा दिएको खोपको तथ्यांक संकलन गर्ने काम भइरहेको विभागले जनाएको छ ।

विभागले हालसम्म १० लाख डोज खोप प्रदेशहरूलाई उपलब्ध गराइसकेको छ । प्रयोगशाला परीक्षण, औषधि तथा निसंक्रमण सामग्री वितरणजस्ता कार्य निरन्तर भइरहेको विभागले उल्लेख गरेको छ । विभागका अनुसार किसानलाई परेको आर्थिक नोक्सानी न्यूनीकरण गर्न प्रदेश र स्थानीय तहहरूसँग समेत समन्वय गरी नियन्त्रणका उपायहरू लागू गरिँदै आएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×