
विराटनगर । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललितनारायण राजवंशीको जीर्ण अवस्थामा रहेको घर अब पक्की बन्ने भएको छ ।
कोशी प्रदेशका सांसद अमृत अर्यालले राजवंशीको विराटनगर महानगरपालिका–१४ स्थित घर निर्माण गरिदिने घोषणा गरेका हुन् ।
मातृशोकमा परेका क्रिकेटर राजवंशीलाई समवेदना दिन साेमबार उनको निवास पुगेका सांसद अर्यालले जीर्ण घरको अवस्था देखेर यस्तो घोषणा गरेका हुन् ।
उनले प्रदेश सरकारको “जनता आवास कार्यक्रम” अन्तर्गत राजवंशीको घर निर्माण गरिने बताए । यो घोषणालाई क्रिकेटर राजवंशीले स्वीकार गरेका थिए ।
सांसद अर्यालका अनुसार, कोशी प्रदेशमा प्रत्यक्ष निर्वाचित सांसदकाे सिफारिसमा निर्वाचन क्षेत्रमा ६ अति विपन्न परिवारका लागि घर निर्माण मिल्छ । सोही कार्यक्रमअन्तर्गत एउटा घर क्रिकेटर राजवंशीको सम्मानमा निर्माण गर्न लागिएको हो ।
“उहाँको घर फुस्को र जीर्ण छ, उहाँको सम्मानमा घर बनाउन लागिएको हो,” सांसद अर्यालले भने ।
जनता आवास कार्यक्रमअन्तर्गत निर्माण हुने घर करिब चारदेखि पाँच लाख रुपैयाँको लागतमा बन्नेछ । जसमा दुई वटा कोठा, एउटा बरन्डा र शौचालय रहने छ ।
पूर्वाधार विकास कार्यालयमार्फत निर्माण हुने यो घर यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने तयारी रहेको सांसद अर्यालले जानकारी दिए ।

























