
काठमाडौं । नेपालबाट भारतमा थप २ सय मेगावाट विद्युत निर्यात गर्न भारत सरकारले सहमति दिएको छ ।
नेपाल विद्युत प्राधिकरणका अनुसार ५ जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली आयात गर्न भारतले अनुमति दिएको हो । यसअघि भारतले नेपालबाट ८ सय १० दशमलव ९ मेगावाट विद्युत खरिदको स्वीकृति दिएको थियो ।
नयाँ अनुमतिसँगै भारततर्फको कुल निर्यात क्षमता १ हजार ११ मेगावाट पुगेको छ । नेपालले बंगलादेशलाई समेत ४० मेगावाट विद्युत निर्यात गर्दै आएको छ । जसअनुसार कुल विद्युत निर्यात स्वीकृति १ हजार ५० दशमलव ९ मेगावाट पुगेको प्राधिकरणले जनाएको छ ।
नयाँ स्वीकृति प्राप्त २ सय मेगावाट विद्युत निर्यात अनुमति आगामी ३१ अक्टोबरसम्म कायम रहनेछ । यसअन्तर्गत लिखु–२, लिखु खोला–ए, लोअर सोलु, ठूलो खोला, सुपर काबेली खोला–ए र सुपर काबेली खोलाबाट उत्पादित बिजुली भारत पठाइनेछ ।
गत आर्थिक वर्ष २०८१–८२ मा भारतलाई विद्युत निर्यात गरेर नेपालले १७ अर्ब ४७ करोड रुपैयाँ आम्दानी गरेको थियो । प्राधिकरणका अनुसार यसपटक थप निर्यात स्वीकृति मिलेकाले यो आर्थिक वर्षमा निर्यात आम्दानी दोब्बर हुने अनुमान गरिएको छ ।

























