
ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्ड कपको उपाधिका लागि आज चर्च ब्वाइज क्लब ललितपुर र सहलेश युवा क्लब सिराहा प्रतिस्पर्धा गर्दैछन् ।
लाखेजात्रा सञ्चालन समितिको आयोजना सञ्चालन भएको ताप्लेजुङ गोल्ड कपमा बुधबार सम्पन्न सेमिफाइनल खेलमा सुनसरीको द योङ ब्रदर्श फुटबल क्लबलाई ट्राइबेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज फाइनलमा प्रवेश गरेको थियो ।
यस्तै, बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा सलहेशले रेड स्टार क्लब झापालाई २–० गोल अन्तर पराजित गर्दै उपाधिका लागि चर्च ब्वाइजसँग भेट पक्का गरेको हो ।
यस अघि पाथीभरा गोल्ड कपको नामले सञ्चालन भएको पहिलो संस्करणको उपाधि चुमिसकेको चर्च ब्वाइज यो पटकको उपाधि आफ्नो पोल्टामा पर्ने दाउमा छ । यस्तै ताप्लेजुङ गोल्ड कपको दोस्रो संस्करणमा उपविजेतामा चित्त बुझाउन बाध्य सहलेश यो पटक उपाधिका लागि अघि बढ्ने रणनीतिमा रहेको छ ।
उपाधिका लागि आफूहरू तयार रहेको दुबै टिमका टिम क्याप्टेन र प्रशिक्षकले बताएका छन् । दुई टिममा राष्ट्र खेलाडी र ए डिभिजनका खेलाडीहरू समावेश भएको पनि जानकारी दिएका छन् ।
लाखेजात्रा पर्वको अवसरमा सञ्चालन गरिएको गोल्डकपको विजेताले नगद ७ लाख २ हजार ८२ रुपियाँ र उपविजेताले ३ लाख ५० हजार ८२ रुपियाँसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
खेलको सर्वोत्कृष्ट खेलाडीले बाइक प्राप्त गर्दा विभिन्न विधाका उत्कृष्ट खेलाडीले नगद पुरस्कार प्राप्त गर्ने छन् ।

























