
विराटनगर । नेपालमा प्लास्टिक फोहोरको उचित व्यवस्थापनका लागि नीति निर्माण गर्ने उद्देश्यले गरिएको पहिलो राष्ट्रिय स्तरको अनुसन्धान प्रतिवेदन सार्वजनिक भएको छ ।
उद्योग संगठन मोरङ र अभ्नी भेन्चर्सले विराटनगरमा आयोजना गरेको सरोकारवालासँग छलफल कार्यक्रममा यो प्रतिवेदन सार्वजनिक गरिएको हो ।
वन तथा वातावरण मन्त्रालय र वातावरण विभागले अभ्नी भेन्चर्सको प्राविधिक सहयोगमा गरेको यस अध्ययनअनुसार, नेपालमा वार्षिक रूपमा ३ लाख ५२ हजार १ सय ४० मेट्रिक टन प्लास्टिक फोहोर उत्पादन हुन्छ ।
अभ्नी भेन्चर्सका निर्देशक सुशील खड्काले यसमध्ये २ लाख १२ हजार १ सय ३१ मेट्रिक टन प्लास्टिक मात्रै औपचारिक वा अनौपचारिक माध्यमबाट संकलन हुने गरेको जानकारी दिए ।
उनका अनुसार, ३० हजार ६ सय ३२ मेट्रिक टन फोहोर पुनः प्रक्रियाका लागि संकलन हुन्छ भने १ लाख ४४ हजार ८ मेट्रिक टन प्लास्टिक फोहोर संकलन नै हुँदैन ।
यसका साथै २ लाख ६१ हजार ६ सय ४३ मेट्रिक टन फोहोर संकलन, ढुवानी, वर्गीकरण र निस्तारण प्रक्रियाका क्रममा व्यवस्थापन प्रणालीबाट बाहिर जाने गरेको प्रतिवेदनमा उल्लेख छ ।
निर्देशक खड्काले प्लास्टिक प्रदूषणको समस्या समाधानका लागि केही महत्त्वपूर्ण सुझावहरू प्रस्तुत गर्दै प्लास्टिक फोहोर व्यवस्थापनलाई प्रोत्साहन गर्न स्थानीय निकायलाई ठोस फोहोर कार्यसम्पादन सूचकका आधारमा वित्तीय सहयोग दिनुपर्ने, प्लास्टिक फोहोर व्यवस्थापन ऐन ल्याएर पुनः प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने र निजी क्षेत्रको लगानी भित्र्याउन सार्वजनिक –निजी साझेदारीको अवधारणा अपनाउनुपर्ने सुझाव दिए ।
कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले प्लास्टिक हाम्रो दैनिक जीवनको अभिन्न हिस्सा बनिसकेको बताए । उनले प्लास्टिकको प्रयोग रोक्न सम्भव नभएकाले यसको विवेकपूर्ण प्रयोग र पुनः प्रयोगका विकल्पहरू अपनाउनुपर्नेमा जोड दिए ।
फोहोर व्यवस्थापनबारे जनचेतना बढाउँदै यसको उपयोगलाई वातावरणमैत्री बनाउन सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने राठीले जोड दिए ।
संगठनका पूर्व अध्यक्ष सुयश प्याकुरेलले प्लास्टिक उद्योगले रोजगारी र राजस्वमा महत्त्वपूर्ण योगदान पुर्याएको बताउँदै प्रत्येक व्यक्तिले दैनिक जीवनमा सचेतना अपनाएर प्लास्टिक वस्तुको पुनः प्रयोग गर्ने वातावरण बनाउनुपर्ने धारणा राखे ।
कार्यक्रममा कोशी प्रदेशका विभिन्न स्थानीय पालिकाका प्रतिनिधिहरू, उद्योगी –व्यवसायीहरू र विभिन्न संघरसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

























