
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले पारा खेलकुदको विकासमा राखेपले विशेष ध्यान दिएको बताएका छन् ।
अमेरिकाबाट ‘स्पोर्ट्स डिप्लोमेसी –स्पोर्ट्स फर सोसल चेन्ज’ कार्यक्रमअन्तर्गत बुधबार त्रिपुरेश्वरस्थित राखेपमा आएका १२ जना प्रतिनिधि मण्डलसँगको भेटमा सदस्यसचिव घिसिङले सो कुरा बताएका हुन् ।
त्यसअघि टोलीलाई सदस्यसचिव घिसिङ, राष्ट्रिय टिम तयारी निर्देशक ओलम्पियन दीपक बिष्ट, राष्ट्रिय टिम तयारीका उपनिर्देशक दीपक श्रेष्ठ, सचिवालय प्रमुख फणिन्द्र पौड्यालले टोलीलाई स्वागत गरेका थिए ।
सो अवसरमा नेपालमा एडप्टिभ स्पोर्ट्स प्रवर्द्धन र खेल आदानप्रदानका सम्भावनाबारे अन्तरक्रिया भएको थियो ।
कार्यक्रमका स्थानीय साझेदार तथा बीआईए इन्स्टिच्युटका कार्यकारी निर्देशक गोकर्ण ढुंगानाले आदानप्रदान कार्यक्रमको उद्देश्य र महत्वबारे प्रकाश पारेका थिए ।

























