
विराटनगर । विराटनगरमा सम्पन्न ‘बिकेभिएम १४ वर्षमुनिको नाइन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि बाल कल्याण विद्या मन्दिर (बिकेभिएम) ले जितेको छ ।
बिकेभिएमले मोरङ जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा आयोजना गरेको प्रतियोगितामा मोर्डन एरालाई एकका विरुद्ध दुई गोलले पराजित गर्दै घरेलु टोली बिकेभिएमले उपाधि कब्जा गरेको हो ।
खेलको ७ औँ मिनेटमा विनीत माझीले गोल गर्दै मोर्डन एरालाई सुरुवाती अग्रता दिलाएका थिए । यद्यपि, १८ औँ मिनेटमा बिकेभिएमका रोजन पाण्डेले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
पहिलो हाफ समान एक गोलको बराबरीमा रोकिएको खेलमा दोस्रो हाफ थप प्रतिस्पर्धात्मक बनेको थियो । सोही क्रममा खेलको ४८ औँ मिनेटमा बिकेभिएमका लागि निश्चल चौधरीले गोल थपे । चौधरीको सोही गोलले बिकेभिएमलाई विजयी बनायो ।

प्रतियोगितामा सर्वाधिक गोलकर्ता बिकेभिएमका रोजन पाण्डे, उत्कृष्ट गोलरक्षक बिकेभिएमका सुविज्ञ दाहाल भए भने सर्वोत्कृष्ट खेलाडी मोर्डन एराका रोशिक राई भए ।
प्रतियोगितामा फेयर प्ले ग्रिनल्याण्ड सेकेन्डरी स्कुल भयो । कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिका –११ का अध्यक्ष तीर्थेन्द्र न्यौपानेलगायतले विजेता तथा उपविजेता खेलाडीहरूलाई शिल्ड तथा प्रमाणपत्र प्रदान गरे ।

























