
काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँका लागि नयाँ नोट (सुकिला नोट) यही भदौ २९ गतेदेखि साट्न पाइने जनाएको छ ।
राष्ट्र बैंकले सूचना जारी गर्दै भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट साट्न पाइने बताएको हो ।
बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार विभागको थापाथलीस्थित कार्यालयका साथै प्रदेश कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सटही गर्न सकिने छ ।
यस्तै, इजाजत प्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट सर्वसाधारणका लागि कारोबारको समयमा नोट सटही हुनेछ ।
यस वर्ष विजया दशमी असोजको १६ गते परेको छ । घटस्थापना ६ गते परेको छ भने फूलपाती १३ गते छ ।

























