
काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतबार) धान उत्पादन विशेष क्षेत्रको अवलोकन गरेका छन् ।
प्रधानमन्त्री ओलीले चीनको थियानजिन प्रान्तअन्तर्गत जिनान जिल्लाको सीआओझानस्थित धान उत्पादन विशेष क्षेत्र भ्रमण गरेको उनको सचिवालयले जनाएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले धान खेतीमा चीनले अपनाएको आधुनिक प्रविधि, अनुसन्धान तथा उत्पादन प्रणालीबारे जानकारी लिएका छन् ।
चीनमा धान उत्पादनलाई दीर्घकालीन खाद्य सुरक्षासँग जोडेर विशेष महत्वका साथ अघि बढाइएका कारण यस क्षेत्रमा गरिएको प्रगति नेपालका लागि पनि उपयोगी हुने विश्वास लिइएको छ । प्रधानमन्त्री ओलीले आजै थियानजिनस्थित चीनका पूर्वप्रधानमन्त्री चाउ इन्लाई र उनकी पत्नी तेङ यिङ्चाओको स्मृति संग्रहालयको पनि अवलोकन गरेका छन् ।
चाउ इन्लाईलाई चीनको क्रान्ति र आधुनिक विकासमा योगदान पुर्याउने महत्त्वपूर्ण नेताका रूपमा मानिन्छ । प्रधानमन्त्री ओली भदौ १४ गतेदेखि चीन भ्रमणमा छन् ।
उनले भ्रमणको पहिलो दिन नै चिनियाँ राष्ट्रपति सी जिनफिङसँग भेटवार्ता गरेका थिए । ओलीको चीन यात्रा राष्ट्रपति सीको निमन्त्रणामा भएको हो ।
शांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुने उद्देश्यसहित चीन पुगेका ओली आगामी बुधबारसम्म त्यहाँ रहनेछन् । भ्रमण अघि उनले शुक्रबारको प्रतिनिधिसभामा जानकारी दिँदै आफ्नो भ्रमण मुलुकको समग्र हितमा केन्द्रित हुने स्पष्ट पारेका थिए ।

























