
विराटनगर । काँकरभिट्टा नाका हुँदै साउन महिनामा १ अर्बभन्दा बढीको कृषिजन्य वस्तु निर्यात भएको छ ।
चालु आर्थिक वर्ष २०८२ / ०८३ को पहिलो महिना साउनमा मात्रै १ अर्ब २३ करोड ५३ लाख ८६ हजार बराबरको कृषि जन्य वस्तु निर्यात भएको प्लान्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेनटाइन कार्यालय काँकडभिट्टाले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी सन्तोष थापाका अनुसार निर्यात हुने मुख्य वस्तुमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसो लगायत छन् ।
उक्त १ महिनाको अवधिमा सबैभन्दा धेरै चिया ३७ करोड ९८ लाख ६८ हजार, अलैँची ३२ करोड ४३ लाख २१ हजार, प्लाइ तथा भेनियर २६ करोड ८७ लाख, अम्लिसो ८ करोड ८७ लाख मूल्य बराबरको निर्यात भएको हो ।
यसैगरी, कार्यालयको तथ्यांक अनुसार अदुवा ६ करोड १० लाख, बन्दा ४ करोड ७ लाख, मुसुरो दाल २ करोड १३ लाख मूल्य बराबरको निर्यात भएको छ।
सोही अवधिमा पूर्वी नाकाबाट १ अर्ब ६९ करोड १७ लाख ५२ हजार मूल्य बराबरको कृषि जन्य माल वस्तु आयात भएको बताइएको छ।
आयात हुने मुख्य कृषि जन्य वस्तुमा कोदो, गेडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफूल, लसुन, आलु, मकै, पशु दाना लगायत छन् ।

























