
काठमाडौं। नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको पदभार ग्रहण गरेका छन् ।
पदभार ग्रहण गर्दै उनले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड लाइनको बक्यौता रकम उठाउने निर्णय गरेका छन् । घिसिङले प्राधिकरणको कार्यकारी निर्देशक रहँदा नै बक्यौता रकमको विषयमा सरकारसँग विवाद रहँदै आएको थियो ।
उनको निर्णय र सक्रियता सरकारको नजरमा असहमति र विवादको विषय बनेको थियो । जसका कारण निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गत चैत्रमा उनलाई कार्यकारी निर्देशक पदबाट हटाउने निर्णय गर्यो ।
अब नयाँ जिम्मेवारी पाएका मन्त्री घिसिङले प्राधिकरणको आर्थिक व्यवस्थापनलाई सुदृढ बनाउने संकेत दिएका छन् । अहिले प्राधिकरणको कार्यकारी निर्देशकमा हाल हितेन्द्रदेव शाक्य छन् ।
ऊर्जा क्षेत्रमा घिसिङको अनुभव र प्राधिकरणमा पुरानो विवाद पार गर्ने शैलीले यसपटक मन्त्रालयको कार्यशैलीमा छिटो सुधार र स्पष्टता आउने अपेक्षा गरिएको छ । बक्यौता उठाउने निर्णयले विद्युत क्षेत्रको पारदर्शिता र लगानी वातावरण सुधार्ने विश्वास समेत गरिएको छ ।

























