
काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका राष्ट्रिय क्रिकेटर शुलभराज श्रेष्ठप्रति मंगलबार श्रद्धाञ्जली अर्पण गरिएको छ ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र नेपाल खेलकुद पत्रकार मञ्चद्वारा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा आयोजित कार्यक्रममा शुलभसहित आन्दोलनमा सहादत प्राप्त गर्ने सम्पूर्णको सम्झनामा मौन धारण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको हो ।
कार्यक्रममा राखेपका सदस्यसचिव टंकलाल घिसिङ, राखेप कार्यकारी समितिका सदस्य भानबहादुर चन्द, सदस्य जगतसिंह धामी, खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरन्जन अधिकारी, ओलम्पियन संघका अध्यक्ष दीपक विष्टसहित खेलाडी, सञ्चारकर्मी र विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सहभागी थिए ।
सो अवसरमा आन्दोलनका क्रममा घाइते भएका फुटबलर पवन शाहीसहित सम्पूर्ण घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको थियो ।

























