
विराटनगर । लामो विवादपछि अन्ततः सुनसरीको धरान उपमहानगरपालिकाले चालुक आर्थिक वर्ष २०८२–०८३ को बजेट पारित गरेको छ ।
स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिबाट पेस भएको २ अर्ब २० करोड ७४ लाख ५९ हजार रुपैयाँको बजेट कार्यपालिका बैठकले पारित गरेको प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईंले बताए । उनका अनुसार पारित भएको बजेटबाट पुँजीगत खर्च १० प्रतिशतले घटाएर कार्यक्रम पेस गर्ने सहमतिपछि मात्रै बजेटको विवाद टुंगिएको हो ।
यसअघि सोही बराबरको बजेट सिलिङ ल्याइएको थियो । नेकपा (एमाले)का सदस्यहरूको असहमति हुँदाहुँदै पनि मेयर हर्क साम्पाङ (हर्कराज राईं)ले अल्पमतबाटै बजेट पास गरिएको दाबी गरेका थिए ।
‘नगरलाई बजेटविहीन अवस्थामा राख्न सकिँदैन’ भन्ने साम्पाङको अडानका आधारमा बजेटको विवाद टुंग्याइएको हो । कार्यपालिकाले बजेट पास गरेसँगै शनिबार नगरसभा बोलाइएको छ । नगरसभामा बजेट पेस गरिने छ ।
नगरसभाले अनुमोदन गरेपछि मात्रै औपचारिक रूपमा बजेट लागू हुनेछ । स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने कानुनी व्यवस्था छ । तर, विवादका कारण धरानमा समयभित्र बजेट आउन सकेन ।
यसअघि भदौ २६ गते नगरसभा गर्ने तयारी भए पनि भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका कारण त्यो सम्भव हुन सकेन । नगरसभा ढिलाइ भएपछि धरान ‘बजेट होलिडे’मा पुगेको थियो । अब भने ‘बजेट होलिडे’को अवस्था अन्त्य भएको छ ।
समयमा बजेट नआउँदा उपमहानगरका कर्मचारीले साउन र भदौ महिनाको तलब पाएका छैनन् । त्यस्तै, उपमहानगरको प्रशासनिक कामदेखि विकास योजनासम्म रोकिएका थिए । बजेट पारित भएपछि रोकिएको तलब भुक्तानी, विकास योजनाको निरन्तरता र आर्थिक गतिविधि फेरि सुचारु हुने अपेक्षा गरिएको छ ।
विवाद र ढिलाइका कारण सुरुमा निराश बनेका कर्मचारी र स्थानीय अहिले भने बजेट लागू हुने आशामा छन् । नगरसभाले बजेट अनुमोदन गरेलगत्तै धरानमा आर्थिक संकट टर्ने र योजना सञ्चालनमा आउने प्रमुख प्रशासकीय अधिकृत चौलागाईंले बताए ।

























