
विराटनगर । नेपाल उद्योग परिसंघ (सीएनआई) का उपाध्यक्ष भीम घिमिरेले युवाहरूले भ्रष्टाचारविरुद्ध गरेको शान्तिपूर्ण आन्दोलनलाई पूर्ण समर्थन रहेकाे बताएका छन् । उनले भविष्यमासमेत सकारात्मक अभियानप्रति आफ्नो साथ रहने प्रतिबद्धता जनाएका छन् । उनले निजी क्षेत्रका सम्पत्तिमाथि भएको तोडफोड र आगजनीप्रति चिन्ता व्यक्त गरेका छन् ।
गत भदाैं २३ र २४ गते युवाहरूले भ्रष्टाचारविरुद्ध गरेको आन्दोलनले असल र उच्च उद्देश्य बोकेको घिमिरेले बताए ।
आन्दोलनका क्रममा निजी तथा सार्वजनिक आक्रमण, तोडफोड र आगजनी प्रति उनले दु:ख व्यक्त गरे ।
“निजी क्षेत्र केवल व्यवसायहरूको समूह मात्र होइन; यो राष्ट्रको विकासको मेरुदण्ड हो,” घिमिरेले भने,’निजी क्षेत्रले लगानी गर्छ, राजस्व सिर्जना गर्छ, रोजगारी दिन्छ, आवश्यक वस्तु र सेवा उत्पादन गर्छ र आत्मनिर्भर नेपालको सपना अगाडि बढाउँछ ।’
अर्थतन्त्रलाई बलियो बनाउने यस्ता संस्थामाथि आक्रमण गर्नु राष्ट्रकै लागि हानि भएको उनको भनाइ छ ।
आन्दोलनको नाममा क्षति, त्रास वा हिंसा मच्चाउने व्यक्ति र समूहलाई छानबिन गरी कानूनी कारबाही गर्न उनले माग गरे ।
उनले विनाशकारी घटना नरोकिए उद्योगी पलायन हुन सक्ने, पूँजी बाहिरिन सक्ने चिन्ता व्यक्त गरे ।

























