
विराटनगर । मोरङको बुढीगंगामा जारी ५ औँ बुढीगंगा सुकचर च्यालेन्जकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा सुन्दरहरैँचाको पूर्वाञ्चल युनाइटेड क्लब पुगेको छ ।
बुढीगंगा–६ को नव युवा क्लब सुकचर ११ ले आयोजना गरेको प्रतियोगिताअन्तर्गत शनिबार भएको खेलमा पूर्वाञ्चलले विराटनगरको विराटनगर सिटी फुटबल क्लबलाई १–० गोल अन्तरमा पराजित गर्दै अन्तिम चारका स्थान पक्का गरेको हो ।
खेलको ३६ औँ मिनेटमा पूर्वाञ्चलका बबिन बोहराले टोलीका लागि गरेको गोल नै निर्णायक बन्यो । खेलको प्लेयर अफ द म्याच पूर्वाञ्चलका बबिन बोहराले नगर २ हजार १ सय रुपैयाँका साथ मेडल प्राप्त गरे ।
असोज १८ गतेसम्म हुने प्रतियोगितामा उदयपुरको मलिथम एफसी, झापाको चुलाचुली स्पोर्टिङ क्लब, सुनसरी रामधुनीको पंचायन एफसी, इटहरीको तालतलैया एफसी, मोरङको केराबारी एफसी, सुन्दरहरैँचाको पूर्वाञ्चल युनाइटेड क्लब, विराटनगर सिटी एफसी र आयोजक नव युवा क्लबको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले १ लाख ५१ हजार रुपैयाँ र उपविजेताले १ लाख १ हजार रुपैयाँका साथै ट्रफी, मेडल प्राप्त गर्ने छन् ।
त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले नगद ५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीले जनही ३ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।
प्रतियोगिताअन्तर्गत आइतबारको खेल सुनसरीको पंचायन फुटबल क्लब र मोरङको केराबारी फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।

























