
काठमाडौं । एसियाली टेबल टेनिस टिम च्याम्पियनसिपको २८ औँ संस्करणमा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली टोली भारतको उडिसा जाने भएका छन् ।
अक्टोबर ११ देखि १५ तारिखसम्म उडिसाको भुवनेश्वरस्थित कलिंगा एथलेटिक्स एचपीसी बिल्डिङमा हुने प्रतियोगितामा समान ३ / ३ पुरुष र महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
पुरुषमा संयोग कपाली, रुविन महर्जन र राजीव चिकन्बञ्जार तथा महिलामा नवीता श्रेष्ठ, वियंका राई र इभाना थापाले प्रतिस्पर्धा गर्ने छन् । टिममा ५ सिंगल्स स्पर्धामा खेल हुनेछ ।
टोली प्रमुखमा अखिल नेपाल टेबल टेनिस संघका महासचिव कुबेरप्रकाश सिंह र प्रशिक्षकमा मोहनदास वासुकला रहेका छन् । प्रतियोगितामा २२ राष्ट्रको सहभागिता रहने प्रशिक्षक वासुकलाले जनाएका छन् ।
नेपालमै गत जुलाईमा विश्व टेबल टेनिस च्याम्पियनसिपका लागि भएको दक्षिण एसियाली क्षेत्रीय टेबल टेनिस छनोट प्रतियोगिताका आधारमा खेलाडी छनोट गरिएको टेबल टेनिस संघले जनाएको छ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, टेबल टेनिस संघका अध्यक्ष बृजेन्द्रबहादुर हमाललगायतले बुधबार एक कार्यक्रमकाबीच बिदाइ गरे ।

























