
काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन आयातको सीमा बढाउने निर्णय गरेको छ । राष्ट्र बैंकले शुक्रबार २०८१ सालको एकीकृत परिपत्रमा संशोधन गर्दै इजाजत प्राप्त निकायहरूले दैनिक ल्याउन पाउने सुनको मात्रा २० किलोबाट बढाएर २५ किलो पुर्याएको हो ।
यसअघि लामो समयदेखि विद्यमान २० किलोको सीमा व्यापारिक माग र बजार व्यवस्थापनका दृष्टिले अपर्याप्त ठहरिएपछि बैंकले संशोधन गरेको हो । नयाँ व्यवस्थाअनुसार इजाजतपत्र प्राप्त आयातकर्ताहरूले वैधानिक प्रक्रिया पूरा गरी प्रतिदिन २५ किलोसम्म सुन ल्याउन सक्नेछन् ।
यो संशोधनले सुन आपूर्तिको सहजता बढाउने, कालोबजारी नियन्त्रणमा सहयोग पुर्याउने र बजारमा मूल्य स्थिरता कायम गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ । त्यसैगरी, राष्ट्र बैंकले विप्रेषण कारोबारसम्बन्धी सीमा र प्रक्रिया पनि संशोधन गरेको छ ।
अबदेखि नेपाली वा विदेशी नागरिक, नेपालमा दर्ता भएका फर्म, कम्पनी, संस्था वा शाखा कार्यालयहरूले बिक्री, कमिसन, शुल्क, पारिश्रमिक जस्ता प्रयोजनका लागि फिर्ता नहुने रकम विदेशी स्रोतबाट प्राप्त गरी इजाजत प्राप्त विप्रेषण कम्पनीमार्फत सम्बन्धित वेनेफिसियरीको खातामा जम्मा गर्न सक्नेछन् । यसअन्तर्गत, १ पटक वा पटक–पटक गरी दैनिक अधिकतम २५ लाख रुपैयाँसम्मको विप्रेषण रकम ल्याउन सकिने व्यवस्था गरिएको छ ।
यसअघि यो सीमा दैनिक २० लाख रुपैयाँसम्म मात्र सीमित थियो । राष्ट्र बैंकले विप्रेषण कारोबार गर्दा प्रचलित नियमअनुसार ग्राहकको पहिचानका सम्पूर्ण कागजात अनिवार्य रूपमा लिनुपर्ने व्यवस्था यथावत राखेको छ ।
नयाँ संशोधित परिपत्रले विप्रेषण कारोबारको विवरणसमेत समयमै राष्ट्र बैंकमा बुझाउनुपर्ने स्पष्ट व्यवस्था गरेको छ । अबदेखि इजाजत प्राप्त कम्पनीहरूले मासिक रूपमा आफ्नो कारोबार विवरण अनुसूची २४.४ को ढाँचामा तयार गरी प्रत्येक महिना समाप्त भएको ७ दिनभित्र सम्बन्धित विभागहरू बैंक सुपरिवेक्षण विभाग, आर्थिक अनुसन्धान विभाग र अन्य सरोकार निकायहरूमा पेस गर्नुपर्नेछ ।
यसअघि विप्रेषण विवरण बुझाउने प्रक्रिया सामान्य रुपमा ‘मासिक रूपमा बुझाउनुपर्ने’ मात्र भनिएको थियो । तर, नयाँ व्यवस्थाले समयसीमा र ढाँचा स्पष्ट गरी प्रणालीलाई अझ पारदर्शी र जवाफदेही बनाएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अधिकारीहरूका अनुसार सुन आयात सीमा र विप्रेषण रकम दुवैमा गरिएको यो संशोधन बजारको वर्तमान अवस्था, विदेशी मुद्रा सन्तुलन र आर्थिक गतिशीलता ध्यानमा राखी गरिएको हो । पछिल्लो निर्णयले वैदेशिक विनिमय कारोबार, सुन बजार र विप्रेषण कारोबार दुवै क्षेत्रमा थप पारदर्शिता र नियमितता ल्याउने विश्वास बैंकको छ ।

























