
काठमाडौं । नेपाल राष्ट्र बैंकले डेबिट कार्ड प्रयोग गरी एटीएमबाट झिक्न पाइने रकमको सीमा घटाएको छ । शुक्रबार जारी निर्देशनअनुसार अब बैंकका ग्राहकहरूले डेबिट कार्डबाट एटीएममार्फत १ पटकमा अधिकतम २० हजार रुपैयाँ मात्र झिक्न सक्नेछन् ।
पहिले एटीएमबाट प्रति कारोबार २५ हजार रुपैयाँसम्म निकाल्न सकिने व्यवस्था थियो । त्यसरी नै दैनिक सीमा पनि घटाइएको छ । अघिल्लो व्यवस्था अनुसार दैनिक १ लाख रुपैयाँसम्म निकाल्न पाइन्थ्यो भने अबदेखि अधिकतम ५० हजार रुपैयाँ मात्र झिक्न सकिनेछ ।
यस्तै मासिक सीमा पनि ४ लाखबाट घटाएर ३ लाख रुपैयाँमा सीमित गरिएको छ । केन्द्रीय बैंकले जारी निर्देशनमा प्रिपेड कार्ड र क्रेडिट कार्ड प्रयोगमा भने कुनै परिवर्तन नगरेको स्पष्ट पारेको छ ।
बैंक तथा वित्तीय संस्थाले जारी गर्ने प्रिपेड कार्डको सन्दर्भमा प्रति कारोबार १० हजार, प्रतिदिन २० हजार र प्रति महिना २ लाख रुपैयाँसम्मको सीमा यथावत् रहनेछ । त्यसैगरी, बैंक तथा वित्तीय संस्थाबाहेकका अन्य सेवा प्रदायक संस्थाले जारी गर्ने प्रिपेड कार्डको हकमा पनि अघिल्लो सीमा परिवर्तन गरिएको छैन । ती कार्ड प्रयोगकर्ताहरूले दैनिक ५ हजार र मासिक २५ हजार रुपैयाँसम्मको कारोबार गर्न सक्नेछन् ।
राष्ट्र बैंकले कार्ड कारोबारमा सीमा घटाउने निर्णयको कारण औपचारिक रूपमा खुलाएको छैन । तर, बैंकिङ क्षेत्रका विज्ञहरूका अनुसार पछिल्लो समय कार्ड दुरुपयोग, एटीएम फ्रड र अवैध वित्तीय कारोबार बढिरहेको सन्दर्भमा केन्द्रीय बैंकले जोखिम नियन्त्रणका लागि यस्तो कदम चालेको अनुमान गरिएको छ ।
डेबिट कार्ड सीमामा गरिएको यस परिवर्तनले विशेष गरी व्यवसायिक प्रयोजनमा कार्ड प्रयोग गर्ने साना तथा मध्यम व्यवसायीहरूलाई तत्काल असर गर्ने देखिएको छ । बैंकहरूले भने हालको निर्देशन कार्यान्वयनका लागि आन्तरिक प्रणाली परिमार्जन सुरु गरिसकेका छन् ।
नयाँ सीमा लागू भएसँगै देशभरका एटीएमहरूमा उक्त व्यवस्थालाई प्राविधिक रूपमा अद्यावधिक गरिने र ग्राहकहरूलाई आवश्यक जानकारी पठाइने बैंकहरूले जनाएका छन् ।

























