
विराटनगर । विराटनगरमा राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाको २७ औँ साधारण सभाका अवसरमा एक पत्रकारसहित तीन जनालाई पुरस्कृत गरिएको छ ।
शनिबार विराटनगरमा भएको साधारण सभामा ११ हजार रुपैयाँ राशिको हिरनकुमार थापा स्मृति पुरस्कार पत्रकार सुमन सुस्केरालाई प्रदान गरिएको छ । किशोरी खतिवडा स्मृति पुरस्कारबाट निजामती कर्मचारी संगठनकी पूर्वउपाध्यक्ष इन्दिरा रिजाल (काठमाण्डौं) लाई प्रदान गरिएको छ । पुरस्कारको राशि १५ हजार रहेको छ ।
त्यस्तै, दधिराम दाहाल स्मृति पुरस्कार समाजसेवी भवनाथ पौडेल (विराटनगर)लाई प्रदान गरिएको छ । पुरस्कारको राशि ११ हजार रहेको छ । सहकारीले ७५ वर्षमाथिका ज्येष्ठ सदस्य तथा कक्षा १२ र एसइईमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीलाई पनि सम्मान गरिएको थियो ।
उनीहरूलाई निजामती कर्मचारी संगठन केन्द्रीय अध्यक्ष भवानी दाहाल, संस्थाका अध्यक्ष जीवन काफ्ले, दाता परिवारका सदस्यलगायतले सम्मान गरेका थिए ।
राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था विराटनगरको कुल सम्पत्ति दायित्व ५७ करोड ३८ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०८० / ०८१ मा ४८ करोड ४ लाख थियो । आर्थिक वर्ष ०८१ / ०८२ मा ५७ करोड ३८ लाख ५७ हजार ४५४ पुगेको संस्थाका अध्यक्ष जीवन काफ्लेले जानकारी दिए ।
साधारण सभाको अवसरमा चालु आर्थिक वर्ष २०८२ / ०८३ मा यसलाई वृद्धि गरेर ६३ करोड ९० लाख १७ हजार ३०२ पुर्याइने लक्ष्य रहेको उनले बताए ।
संस्थाले गत आर्थिक वर्ष २०८१ / ०८२ मा कुल आम्दानी ५१ करोड ४३ लाख ५ हजार ५६९ रुपैयाँ गरेको छ । वार्षिक लक्ष्यको ९४ प्रतिशत आम्दानी भएको अध्यक्ष काफ्लेले बताए ।
सहकारीको निक्षेप ४४ करोड ४३ लाख ११ हजार ७०८ रुपैयाँ ७३ पैसा रहेको छ । ऋण लगानी ३५ करोड ८८ लाख ७२ हजार ९९४ रुपैयाँ रहेको छ । सहकारीको कोष हिसाब ४ करोड ९९ लाख ७२ हजार ४३ रुपैयाँ ३१ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ ।
सहकारीले ५ करोड १४ लाख ३५ हजार ५६९ रुपैयाँ ४६ पैसा कुल आम्दानी गरेकोमा ४ करोड ९२ लाख २३ हजार ९६७ रुपैयाँ ७६ पैसा खर्च गरेको छ ।

























