
काठमाडौं । नेपाल प्रहरी श्रीमती संघले अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा एकपछि अर्को ऐतिहासिक सफलता दिलाएकी ऐरीका गुरुङलाई नगदसहित सम्मान गरेको छ।
ऐरीकाले गत असोज १७ देखि १९ सम्म मलेसियामा सम्पन्न डब्लुकेएफ कराँते वान सिरिज ‘ए’ मा नेपालका लागि ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन् ।
नेपाल प्रहरी श्रीमती संघले आइतबार कार्यक्रमको आयोजना गर्दै ऐरीकालाई २५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरेको हो । नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष भावना श्रेष्ठ खापुङले ऐरीकालाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिन् ।
सो अवसरमा महिला प्रहरी संघले नेपाली राष्ट्रिय कराँते टोलीका प्रशिक्षक एवम् १३ औँ दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता मन्डेकाजी श्रेष्ठलाई पनि सम्मान गरेको थियो ।
ऐरीका नेपाल पुलिस क्लबकी खेलाडी पनि हुन् । उनले गत शुक्रबार सम्पन्न च्याम्पियनसिपमा कुमितेमा ६८ केजी तौलमाथि स्वर्ण जितेकी थिइन् ।
उनले ट्युनिसियाकी मसाक्नी टेस्निम, चेक रिपब्लिककी हाकोभा अमाली र पोल्यान्डकी डेनिस्जेवस्का जुलियालाई पछाडि पार्दै स्वर्ण जितेकी हुन् ।
सेमिफाइनलमा हाकोभालाई ७–० ले हराएकी ऐरीकाले फाइनलमा मसाक्नीलाई २–० ले निराश पारिन् । कराँते वान सिरिज ‘ए’ मा स्वर्ण पदक जित्ने ऐरीका पहिलो नेपाली खेलाडी पनि हुन् ।

























