
विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१–०८३ को बजेटमा २५ प्रतिशत कटौती गर्ने निर्णय गरेको छ ।
कोशी प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २५ प्रतिशत बजेट कटौती गर्ने निर्णय लिएको हो । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।
कोशी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले २५ प्रतिशत बजेट कार्यान्वयनमा नल्याउने गरी रोक्का गर्ने निर्णय गरिएको जानकारी दिए ।
गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनको बेला भएका आगजनी र तोडफोडबाट क्षतिग्रस्त कार्यालयको पुनर्निर्माण र असोज १८ गतेपछिको बाढीपहिरोबाट भएको क्षतिको पुनर्निर्माणका लागि खर्च गर्नका लागि बजेट कटौती गर्ने निर्णय गरिएको मन्त्री भण्डारीले बताए । कोशी प्रदेश सरकारले बजेटलाई पुनर्निर्माणमा लगाउने तयारी तीव्ररूपमा अघि सारेको छ ।
त्यस्तै, मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिवमा मिलन आचार्य र पर्यटन, वन तथा वातावरण मन्त्रालयको सचिवमा प्रदेशको ११ औं तहका इन्द्र सापकोटालाई खटाउने निर्णयसमेत गरेको छ । त्यस्तै, प्रदेश सरकारले विपद्पछिको पुनर्निर्माणमा मात्रै खर्च गर्नेगरी रकमान्तरलाई खुला गर्ने भएको छ ।

























