
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणसँगको ‘डेडिकेटेड तथा ट्रंकलाइन’ बिजुलीको बक्यौता विवादमा उद्योगीहरूले आफूहरूको कुनै पनि रकम तिर्न बाँकी नरहेको दाबी गर्दै प्रधानमन्त्री सुशीला कार्कीलाई पत्र पठाएका छन्।
शुक्रबार प्रधानमन्त्रीलाई पठाएको पत्रमा उद्योगीहरूले आफूहरूले उद्योगमा खपत भएको बिजुलीबापतको सम्पूर्ण रकम तिरिसकेको जानकारी गराएका छन्।
उद्योगहरूले हजारौँलाई रोजगारी दिएको र अर्बौं रुपैयाँ राजश्व दाखिला गर्दै आएको उल्लेख गरेका छन्। साथै, उनीहरूले नेपाल विद्युत् प्राधिकरणको बिजुली उपभोग गरेबापत मासिक करोडौँ रकम महसुल नियमित रूपमा तिरिरहेको बताएका छन्।
पत्रमा स्पष्ट भनिएको छ, ‘हाम्रो उद्योगमा खपत भएको विद्युत्बापत प्राधिकरणबाट जारी विजकको सम्पूर्ण रकम तिरिसकेका छौं। अब कुनै बक्यौता राखेका छैनौं’ यो पत्रमार्फत उद्योगीहरूले लामो समयदेखि चल्दै आएको डेडिकेटेड लाइनको बक्यौता विवादमा आफूहरूको पक्षमा सफाई दिएका छन्।

























