
इलाम । असोज १८ गतेको त्यो रात, इलामको माईजोगमाई गाउँपालिका–६ प्याङस्थित सोङ्मी गाउँकी १६ वर्षीया आकृति सोङ्मी लिम्बूको जीवन एक झट्कामा बदलियो ।
मुसलधारे वर्षासँगै आएको पहिरोले उनका बुवा धनबल, आमा सरला, हजुरबुवा बमध्वज, हजुरआमा बुद्धिमाया र कान्छी बहिनीलाई सधैँका लागि खोस्यो । अब न घर बाँकी छ, न त परिवारमा अभिभावक । पहिरोले परिवारका ५ जनालाई एकैपटक खोसे पनि फुटबल खेलाडी बन्ने आकांक्षा र सपना भने बाँकी छ ।
कक्षा ११ मा अध्ययनरत आकृति इलाम नगरपालिकास्थित विद्यालयमा पढ्दै आएकी थिइन् । अध्ययनसँगै विद्यालयस्तरको फुटबलमा उनको परिचय पहिले नै चम्किसकेको थियो । खेलकुद र पढाइ दुवै अब्बल रहेकी छोरीलाई बुवाले इलाम पठाएका थिए । तर, अहिले उनी अभिभावकविहीन बनेकी छन् । आकृति अहिले आफ्नो काका रविन सोङ्मी लिम्बूको घरमा बहिनी स्मृतिसँग बसिरहेकी छिन् ।
वडाध्यक्ष दिपेश सोङ्मी लिम्बू भन्छन्, ‘एकै रातमा आकृतिको सम्पूर्ण परिवार माटोमा गयो । तर, हामी गाउँले सबै उनको साथमा छौँ । अहिले अस्थायी टहरा बनाइदिने तयारी भइरहेको छ ।’ सो रात त्यही वडामा किरण थेबे परिवारका ३ सदस्यको पनि ज्यान गएको थियो ।
भौतिक रूपमा केही नबचेकै अवस्थामा पनि आकृतिको भविष्यको चासो फुटबलकर्मीहरुले लिएका छन् । आकृतिलाई साथ दिने प्रतिबद्धता जनाएका छन् ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ कोशी प्रदेश र कोशी प्रदेश फुटबल संघका प्रतिनिधिहरू बिहीबार आकृतिलाई भेट्न पुगे । संघका निवर्तमान संयोजक वसन्त अर्यालले भने, ‘हामी पैसा दिएर मात्र फर्कन आएका होइनौं । उनको फुटबल यात्रामा साथ दिन तथा सपना बचाउन र उनको आत्मबल पुनः जगाउन आएका हौं ।’
संघका अध्यक्ष किशोर राईका अनुसार तत्कालका लागि आकृति परिवारलाई ४५ हजार रुपैयाँ सहयोग गरिएको छ । त्यसैगरी, पहिरोबाट ३ जना गुमाएका भक्त थेवेको परिवारलाई ३० हजार र पहिरोपीडित जिल्ला फुटबल संघ इलामका सदस्य रमेश श्रेष्ठलाई २५ हजार रूपैयाँ सहयोग गरिएको छ ।
अर्याल भन्छन्, ‘आकृतिमा खेलाडी बन्ने क्षमता देखिन्छ । आवश्यक परे उनलाई रौतहट फुटबल एकेडेमीमा पठाउने तयारी छ । हामी सबै उनको भविष्यका लागि जुटेका छौं ।’ कोशी प्रदेश सरकारले पहिरोपीडितका लागि घर बनाउने घोषणा गरे पनि हालसम्म प्रक्रिया अघि बढेको छैन ।
वडाध्यक्ष लिम्बूका अनुसार अस्थायी टहरा निर्माणका लागि पहिलो चरणमा दुई किस्तामा ५० हजार रुपैयाँ दिने तयारी छ । ‘अहिले जन्मदर्ता, मृत्यु दर्ता र नागरिकता सम्बन्धी कागजात बनाउने काम भइरहेको छ,’ उनले भने ।
बाहिरबाट हेर्दा आकृति शान्त लाग्छिन् । तर, मनभित्र भने कहालिलाग्दो रातको स्मृति ताजा छ । फुटबलमै उनले आफ्नो जीवनको अर्थ खोजिरहेकी छन् ।
त्यो खेल नै अब उनका लागि परिवारका सम्झना, पीडाको निकास र भविष्यको बाटो बन्ने फुटबलकर्मी बताउँछन् । पहिरोले उनको घर र परिवारका अभिभावक खोस्यो । तर, फुटबलर बन्ने सपना मात्रै बाँकी छ ।


























