
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतको सिलोङमा हुने त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेल्ने छ ।
त्रिदेशीय प्रतियोगितापछि नेपालले भारतसँग अर्को मैत्रीपूर्ण फुटबल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
एन्फाका अनुसार नेपाल, भारत र इरानबीच सिलोङमा हुने त्रिदेशीय मैत्रीपूर्ण प्रतियोगिता फिफा विन्डोभित्र पर्छ । नेपालले प्रतियोगिताअन्तर्गत कात्तिक ७ गते इरान र कात्तिक १० गते भारतसँग खेल्ने छ ।
त्यसपछि, नेपाल र भारतबीच कात्तिक १३ गते अर्को मैत्रीपूर्ण खेल हुने भएको छ, जुन फिफा विन्डोभन्दा बाहिर पर्छ ।
यसअघि नेपाल र भारतबीच सिलिगुडीमा मैत्रीपूर्ण खेल हुने प्रारम्भिक योजना भए पनि पछि इरानलाई समेत समावेश गरी सिलोङमा त्रिदेशीय प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको हो ।
व्यावसायिक फुटबलका लागि विदेश गएका कप्तान सावित्रा भण्डारी ‘साम्बा’ न्युजिल्याण्डबाट, गोलकिपर एन्जिला तुम्बापो सुब्बा भारतबाट, पूजा राना भुटानबाट र प्रीति राई जोर्डनबाट फर्किएका छन् ।
त्रिदेशीय प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई मंगलबार एन्फाले औपचारिक बिदाइ गरेको छ ।


























