
विराटनगर । ‘कोशीको गौरव हिमालको शान, पर्यटन वर्षमा सबैलाई सम्मान’ भन्ने मूल नाराको साथ कोशी प्रदेश सरकारले २०८२ साललाई पर्यटन वर्षका रूपमा मनाइरहेको छ ।
आर्थिक अवस्थालाई सुदृढ पार्दै प्रदेशको पर्यटन विकास र प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारले पर्यटन वर्ष मनाइरहेको छ । प्रदेश सरकारले छिमेकी देश भारत र तेस्रो मुलुकबाट १५ लाखभन्दा बढी पर्यटक यस वर्ष भित्र्याउने लक्ष्यसहित पर्यटन वर्षको सुरुवात गरेको हो ।
०८२ साललाई पर्यटन वर्षका रूपमा मनाउन सुरु गरेको पहिलो ३ महिना प्रदेश सरकारले कोशी प्रदेशका पर्यटकीय स्थलहरूको व्यापक प्रचारप्रसार गरे पनि पछिल्लो ३ महिना भने खासै प्रचारप्रसार गरेको पाइँदैन ।
पर्यटन वर्ष मनाइएको ६ महिना पुग्दा प्रदेश सरकारले लिएको लक्ष्यअनुसार प्रगति हुन नसकेको पर्यटन व्यवसायीहरू बताउँछन् । उनीहरूका अनुसार सरकारले जुन लक्ष्यका साथ पर्यटन वर्ष मनाउने योजनाका साथ अघि सर्यो, त्यसो अनुसारको काम हुन सकेन र पर्यटकहरू पनि आउन सकेनन् ।
पर्यटकहरू आउने सिजन सुरु हुने समयमा आन्दोलन भएकाले पर्यटकहरू नआएको हुनसक्ने पर्यटन व्यवसायीहरू बताउँछन् ।
एक व्यवसायीले भने, ‘पर्यटकहरू घुम्न आउने हुन् ।उनीहरू आनन्द लिन आउने भएकाले यहाँको राजनैतिक अस्थिरताले गर्दा बन्द हडताल र आन्दोलनको तनाव लिन चाहँदैनन् । त्यही भएर पनि होला घुम्न आउने भनिएका पर्यटकले पनि आफ्नो पूर्व निर्धारित कार्यक्रम फिर्ता गर्न थालेका छन् । घुम्न आउँदा हुनसक्ने बन्द, हडतालको जोखिम लिन उनीहरू चाहँदैनन् ।’
प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्षको सुरुवाती तीन महिना पर्यटन सम्बन्धी प्रचारप्रसार भएपछि पछिल्लो ३ महिना खासै प्रचारप्रसार सम्बन्धी कार्यक्रम देखिएको छैन ।
कोभिडले थलिएको पर्यटन व्यवसाय र यस क्षेत्रलाई पुनः कोभिडभन्दा अघिकै अवस्था पुर्याउन सरकारले ल्याएको पर्यटनसम्बन्धी योजनामा निजी क्षेत्रमा सँगसँगै रहेको कोशी पर्यटन वर्ष २०८२ का सहसंयोजक भविश श्रेष्ठले बताए । उनका अनुसार सरकार मात्रै लागेर हुँदैन, यसमा निजी क्षेत्र, राजनैतिक दलहरूमा उत्तिकै जिम्मेवारी हुनुपर्छ र यस्ता कार्यक्रमले गति लिन सक्छ ।
धार्मिक, प्राकृतिक, सांस्कृतिकसँगै शिक्षा, स्वास्थ्य, खेलकुदलगायत क्षेत्रका पर्यटक आउने गरेको श्रेष्ठले बताए । यस्तो कार्यक्रमले पर्यटन व्यवसायीलाई मात्रै नभई समग्र देशलाई नै फाइदा पुग्छ ।
जतिको संख्यामा नेपालमा विदेशी पर्यटक आउँछन्, त्यत्ति नै नेपालको वैदेशिक ऋण र व्यापार घाटा कम गर्न सकिने उनले बताए ।
सहसंयोजक श्रेष्ठले भने, ‘प्रदेशमा पर्यटक स्तर होटेल करिब ५ सय होटेल र वान स्टार स्तरदेखि फाइ स्टार स्तरसम्मका डेढ सय होटेल रहेको छ । यी होटेलहरूमा दैनिक ३ हजार पर्यटक बस्न सक्ने क्षमता रहेको छ । गत महिना आएको बाढी पहिरोले पर्यटन क्षेत्रलाई पनि प्रत्यक्ष असर पुगेको छ । सरकारले चाँडोभन्दा चाँडो कोशी प्रदेशको पर्यटकीय स्थलहरू आउजाउ गर्न सक्ने बाटो निर्माण गरे पर्यटक आउने छन् । पर्यटन वर्षको प्रचारप्रसार छठ पर्व पछाडि व्यापक गरिने छ ।’
कोशी प्रदेश भौगोलिक, सांस्कृतिक र धार्मिक पर्यटनका हिसाबले रमणीय मानिन्छ । यहाँ विभिन्न प्रसिद्ध धार्मिक स्थलसहित ८ हजार ८ सय ४८ मिटर अल्गो विश्वको सर्वोच्च शिखर सगरमाथादेखि समुद्री सतहबाट ७० मिटर उचाइमा रहेको नेपालकै होचो भूभाग कचनकवल पनि छ । सूर्योदय हेर्न इलामको श्रीअन्तुडाँडामा दैनिक हजारौँ स्वदेशी तथा बाह्य पर्यटकको भीड नै लाग्ने गर्दछ । कोशी टापु आरक्ष क्षेत्रमा चरा हेर्नेदेखि वेतना सिमसारका कछुवाले पर्यटकलाई लोभ्याउने गरेको छ ।
कोशी प्रदेश सरकारले यो प्रदेशमा पर्यावरणीय गन्तव्यको सूचीमा १३ र ट्रेकिङ ट्रेलका रूपमा १० स्थान समावेश गरेको छ । सगरमाथा अवलोकन गर्न ४३ प्रतिशत बाह्य र ५७ प्रतिशत आन्तरिक पर्यटक हरेक वर्ष यो प्रदेशमा आउने गरेको सरकारी तथ्यांक छ ।
धनकुटाको छिन्ताङ, ताप्लेजुङका पाथीभरा मन्दिर, खोटाङको हलेसी, सुनसरीको बराह क्षेत्र धार्मिक पर्यटनका हिसाबले महत्त्वपूर्ण क्षेत्र हुन् । इलामको चियाबारी, धनकुटाको भेडेटार, भोजपुरको ट्याम्केमयुङडाँडा, पाँचथरको साधुटारलगायत पर्यटकीय आकर्षक गन्तव्य मानिन्छन् ।

























