
विराटनगर । मेची भन्सार कार्यालयबाट आर्थिक वर्षको पहिलो ३ महिनामा आयाता बढी भएको छ ।
चालु आर्थिक वर्ष २०८२ र ०८३ को पहिलो ३ महिनामा मेची भन्सार कार्यालय काँकरभिट्टाबाट १२ अर्ब २८ करोड ३० लाख रुपैयाँ मूल्य बराबरका मालवस्तु आयात भएको भन्सार कार्यालयले जनाएको छ ।
जुन गत आव २०८१ र ०८२ को सोही अवधिको तुलनामा एक अर्ब ४४ करोड २७ लाख अर्थात् १३ दशमलव ३१ प्रतिशतले बढेको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए ।
उनका अनुसार गत आवको पहिलो त्रैमासिकमा १० अर्ब ८४ करोड तीन लाख रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको थियो । चालु आर्थिक वर्ष २०८२ र ०८३ को पहिलो त्रैमासिकमा यो नाकाबाट हुने निर्यात घटेको छ ।
उक्त अवधिमा चार अर्ब ८० करोड ३९ लाख बराबरको सामान विभिन्न मुलुक निर्यात भएको छ । गत आवको सोही अवधिमा छ अर्ब आठ करोड ६९ लाख रुपैयाँको वस्तु तथा सामान निर्यात भएको भन्सार कार्यालयले जनाएको छ ।
यो नाकाबाट निर्यात २१ दशमलव ०८ प्रतिशतले घटेको बताउँदै, हुमागाईंले भने, ‘यस नाकाबाट निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, फलामे पाता, चिया, प्लाइउड, छुर्पी, अम्रिसो, भेनिउर सिट, मोलासिस लगायत छन् भने आयात हुने मुख्य मालवस्तुहरूमा पेट्रोलियम पदार्थ, जुट, दलहन, पशु आहाराको कच्चा पदार्थ, तरकारी, फलफूल, खनिज उत्पादन, तयारी कपडा लगायत छन् ।’
चालु आव २०८२ र ०८३ को पहिलो त्रैमासिकमा आयात निर्यातबाट चार अर्ब १५ करोड २० लाख आठ हजार राजस्व संकलन भएको छ । जुन गत आव २०८१ र ०८२ को सोही अवधिको तुलनामा १५ दशमलव ६९ प्रतिशत अर्थात् ५६ करोड २९ लाख ९७ हजार रुपैयाँले बढी रहेको भन्सार कार्यालयले जनाएको छ ।

























