
काठमाडौं । तेस्रो एसियाली युथ गेम्समा सहभागी हुन नेपाली जुडो टोली सोमबार बहराइन जाने भएको छ ।
एसियाली युथ गेम्स सुरु भइसके पनि जुडोको प्रतिस्पर्धा अक्टोबर २९ तारिखदेखि हुनेछ ।
जुडोमा नेपालबाट महिला ४४ केजीमुनि समिता नेपालीले चुनौती प्रस्तुत गर्ने छिन् । समिता सहित उनको स्पर्धामा १३ प्रतिस्पर्धी छन् । समिता बन्दी सहायता नियोग (पाम) की खेलाडी हुन् ।
समितिको प्रशिक्षकमा राष्ट्रिय टिमकी सदस्य देवकीमाया श्रेष्ठ छिन् । पामकै सहायक जुडो प्रशिक्षक देवकी पनि पामकै उत्पादन हुन् ।
टोलीलाई जुडोका मुख्य प्रशिक्षक वीरेन्द्र रन्जित, पामका कार्यकारी निर्देशक एवं प्रमुख प्रशिक्षक सूर्यनारायण श्रेष्ठ, पामका सदस्य छविन्द्र श्रेष्ठले एक कार्यक्रमबीच बिदाइ गरे ।
एसियाली युथ गेम्सकै लागि नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य र आइटी एक्सपर्ट सुप्रसिद्ध ताम्राकार पनि सोमबारै बहराइन जाने छन् ।

























