
विराटनगर । नेपाल र भारतबीच ऊर्जा सहकार्यलाई थप बलियो बनाउँदै दुईवटा महत्त्वपूर्ण अन्तरदेशीय ४०० केभी विद्युत् प्रसारण लाइन निर्माण गर्ने बाटो खुलेको छ । आज (बुधबार) नयाँ दिल्लीमा इनरुवा–पूर्णिया र लम्की (दोदोधारा)–बरेली ४०० केभी प्रसारण लाइन निर्माणका लागि संयुक्त उपक्रम तथा शेयरहोल्डर सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरको उपस्थितिमा हस्ताक्षर भएको हो । नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक सुभाष कुमार मिश्र र पावर ग्रिड कर्पोरेसन अफ इण्डिया लिमिटेडका अधिकारीले हस्ताक्षर गरे ।
यो सम्झौतासँगै दुवै प्रसारण लाइन निर्माणका लागि नेपाल र भारत दुवैतर्फ दुईवटा संयुक्त कम्पनी स्थापना हुनेछन् ।निर्माणमा ८० प्रतिशत ऋण र २० प्रतिशत सेयर पुँजी रहनेछ । भारतीय खण्डमा प्राधिकरणको ४९% र पावर ग्रिडको ५१% सेयर हिस्सा छ । नेपाली खण्डमा प्राधिकरणको ५१% र पावर ग्रिडको ४९% सेयर हिस्सा छ । यी दुवै लाइन सन् २०३० भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
मन्त्री घिसिङले यी प्रसारण लाइनहरू द्विदेशीय र क्षेत्रीय विद्युत् व्यापारका लागि अर्को महत्त्वपूर्ण कोसेढुङ्गा भएको बताएका छन् । उनले यसबाट नेपालको बिजुली अन्तर्राष्ट्रिय ऊर्जा बजारसम्म पुग्ने र जलविद्युतमा थप स्वदेशी तथा विदेशी लगानी आउने विश्वास व्यक्त गरे ।
भारतीय विद्युतमन्त्री खट्टरले पनि यी लाइनहरूले नेपाल–भारतबीचको विद्युत् विनिमयलाई सुदृढ पार्ने र क्षेत्रीय ऊर्जा सुरक्षामा सुधार ल्याएर दुवै देशको आर्थिक वृद्धिमा योगदान पुर्याउने बताए ।
हाल नेपाल र भारतबीच ४०० केभीको ढल्केबर–मुजफ्फपुर प्रसारण लाइन सञ्चालनमा छ। बुटवल–गोरखपुर दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणाधीन छ । नेपालले हाल दैनिक रूपमा करिब एक हजार मेगावाट विद्युत् भारत एवम् बङ्गलादेशतर्फ निर्यात गरिरहेको छ । मन्त्री घिसिङ र भारतीय विद्युतमन्त्री खट्टरबीच ऊर्जा सहकार्य, विद्युत् व्यापार र दीर्घकालीन साझेदारीलगायतका विषयमा विस्तृत छलफल भएको थियो।

























