
काठमाडौँ । निजी अस्पतालका नर्सहरूको उचित पारिश्रमिकको मागसहितको आन्दोलनमा सरकारी अस्पतालका नर्सहरूले पनि ऐक्यबद्धता जनाएका छन् । पोखराको पश्चिमाञ्चल अस्पतालका नर्सहरूले बुधबार बिहान १० देखि १२ बजेसम्म आपत्कालीन र आईसीयू बाहेकका सेवा रोकेर प्रदर्शन गरेका छन्। सरकारी दररेटअनुसार तलब, श्रम शोषण अन्त्य र तलब वृद्धिको माग गर्दै उनीहरूले अस्पताल परिसरमै नारा लगाएका थिए ।
पोखराको मणिपाल शिक्षण अस्पतालबाट भएको थियो र अहिले देशव्यापी बनेको छ। प्रभावित क्षेत्र: पोखराका मणिपाल शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेज, चरक मेमोरियल अस्पतालमा सेवा पूर्ण प्रभावित भएको छ भने सरकारी अस्पतालमा पनि समस्या सुरु भएको छ।
नेपाल नर्सिङ सङ्घले आन्दोलनको नेतृत्व लिँदै सरकारलाई कात्तिक १८ गतेभित्र माग सम्बोधन गर्न अल्टिमेटम दिएको छ। दैनिक कार्यतालिका: सङ्घको निर्णयअनुसार हाल दैनिक बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म अत्यावश्यकबाहेकका सेवा बन्द राखिएको छ।
निजी अस्पताल र मेडिकल कलेज सञ्चालकहरूले स्वास्थ्य मन्त्रालयले तोकेको तलब दिन नसक्ने बताइरहेका छन्। निजी अस्पतालहरूको छाता संस्था ‘अफिन गण्डकी’ ले पत्रकार सम्मेलन गरेर श्रम ऐन कार्यान्वयन गरिरहेको तर स्वास्थ्य मन्त्रालयले पठाएको परिपत्र स्विकार्न नसकिने प्रतिक्रिया दिएको थियो। स्वास्थ्य मन्त्रालयले न्यूनतम नासु सरहको तलब दिन भन्दै अस्पतालहरूमा परिपत्र पठाएको थियो।
नर्सहरूको मागबारे अध्ययन गर्न सरकारले उच्चस्तरीय समिति गठन गरेको छ। समितिले सातै प्रदेशमा कार्यदल बनाएर अवस्थाको मूल्याङ्कन र दीर्घकालीन समाधानको सिफारिससहित प्रतिवेदन पेस गर्ने तयारी गरेको बताइएको छ। नर्सिङ सङ्घले कात्तिक १८ गतेभित्र पनि माग सम्बोधन नभए देशभरका नर्सले सेवा पूर्ण रूपमा बन्द गर्ने चेतावनी दिएको छ।

























