
काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ मा युएईसँग नेपाल पराजित भएको छ । प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा युएईसँग नेपाल ५ विकेटले पराजित भएको हो ।
नेपालले दिएको २३४ रनको लक्ष्यलाई युएईले ४३ ओभर ३ बलमा ५ विकेट गुमाउँदै पूरा गर्यो । यसअघि टस जितेर कप्तान रोहित पौडेलको शतकको मद्दतले नेपालले ५० ओभर खेल्दै १० विकेट गुमाएर २३३ रन जोडेको थियो ।
जवाफी ब्याटिङमा उत्रिएको युएईका ओपनर ब्याटर आर्यान्स शर्माले सर्वाधिक ९८ रन जोड्दा अर्का ओपनर अलिशान सराफूले ४५ रन जोडे । यस्तै, मोहम्मद वासिमले २६ रनको योगदान गरे ।
नेपालका लागि सबै जसो बलर निष्प्रभावी रहे । सन्दीप लामिछानेले २ विकेट लिँदा दीपेन्द्रसिंह ऐरी र करन केसीले १–१ विकेट लिए ।
यसअघि, नेपालले सुरुका ४ ओभर राम्रो ब्याटिङ गरे पनि त्यसपछि नेपाली इनिङ निकै सुस्त रह्यो । कप्तान रोहितले सम्हालिँदै १०९ रनको पारी खेल्दा असिफ शेखले ३५, आरिफ शेखले २७ र दीपेन्द्रसिंह ऐरीले २३ रनको योगदान दिए ।
युएईका लागि जाहिद अलीले ४, जुनैद सिद्दिकी ३ र मोहम्मद रसिद र हैदर अलीले १–१ विकेट लिएका थिए ।
लिग–२ अन्तर्गत नेपालले युएईमा अमेरिका र युएई सम्मिलित यो त्रिकोणीय श्रृंखला खेल्दै छ।
नेपालको यो लगातार दोस्रो हार हो । यसअघि अमेरिकासँग पनि नेपालले पराजय भोगेको थियो । अंक तालिकाको पुछारमा रहेको युएईसँग पनि यसरी फराकिलो हार भोगेपछि नेपालका लागि झन् चुनौती थपिएको छ । जारी त्रिकोणीय श्रृंखलामा नेपालले युएई र अमेरिकासँग १–१ खेल खेल्ने छ ।

























