
विराटनगर । झापाका आयुष न्यौपाने विराटनगर किंग्सका आइकन खेलाडीमा चयन भएका छन् ।
विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि क्रिकेटर न्यौपानेलाई आइकन खेलाडीको रूपमा चयन गरेको हो ।
विराटनगर किंग्सले झापामा आयोजना गरेको ‘ड्रिम टु प्ले क्रिकेट’ प्रतियोगितामार्फत न्यौपाने टिमको आइकन खेलाडीमा छानिएका हुन् ।
झापाको सुरुङ्गाका न्यौपानेले स्थानीय सुरुङ्गा वाइट वास क्रिकेट क्लबबाट क्रिकेट खेल्दै आएका छन् । उनले यसअघि अन्डर १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पनि सहभागिता जनाइसकेका छन् ।
उत्कृष्ट प्रदर्शन र सम्भावनाका कारण उनलाई विराटनगर किंग्सले आइकन खेलाडीको रूपमा अवसर प्रदान गरेको हो ।
हाल उनी विराटनगर किंग्स टिमसहित भारतको मुम्बईमा अभ्यास सत्रमा रहेका छन् । आगामी नेपाल प्रिमियर लिगका खेलहरूका लागि टिम तयारीमा व्यस्त रहेको जनाइएको छ।
‘कोशीको शान, हाम्रो पहिचान’ भन्ने नाराका साथ विराटनगर किंग्सले कोशी प्रदेशको प्रतिनिधित्व गर्दै नेपाल प्रिमियर लिगमा सहभागिता जनाउँदै आएको छ ।

























