विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कार्तिक १४, शुक्रबार १७:१२
विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा रहेको विराट मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलमा रहेको रेवन्त–रुक्मणि मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले अन्तर्राष्ट्रिय मान्यता पाएको छ ।

युरोपेली सोसाइटी फर मेडिकल अन्कोलोजी (इएसएमओ) बाट आधिकारिक मान्यता प्राप्त गर्दै विराट क्यान्सर इन्स्टिच्युट नेपालको पहिलो संस्था बनेको हो ।

Advertisement

जर्मनीको बर्लिनमा गत अक्टोबर १७ देखि २१ सम्म आयोजित विशेष कार्यक्रममा उक्त संस्थालाई एकीकृत अन्कोलोजी र प्यालिएटिभ केयर इएसएमओ नियुक्त केन्द्रको रूपमा अवार्ड प्रदान गरिएको हो ।

क्यान्सर इन्स्टिच्युटले सन् २०२६ देखि २०२८ सम्मका लागि इएसएमओ नियुक्त केन्द्रको रूपमा मान्यता प्राप्त गरेको छ ।

इएसएमओ डिजाइनेटेड सेन्टर कार्यक्रमले विश्वभरका अन्कोलोजी र प्यालिएटिभ केयर सेवाहरूको गुणस्तर सुधार गर्ने उद्देश्यका साथ सञ्चालन गरिँदै आएको छ ।  यो मान्यता ३ वर्षका लागि अवधिको लागि हुने इएसएमओ ले जनाएको छ ।

यो मान्यताले विराट क्यान्सर इन्स्टिच्युटले विश्व स्तरीय अन्कोलोजी सेवा, करुणामय प्यालिएटिभ केयर र बिरामीको मर्यादाप्रति अटल प्रतिबद्धता राखेको प्रमाणित गरेको छ ।

यो नेपालमा बहुअनुशासनात्मक क्यान्सर र प्यालिएटिभ केयर सेवाहरूलाई अगाडि बढाउने दिशामा ऐतिहासिक र उल्लेखनीय कदम भएको  रेवन्त–रुक्मणि मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले जनाएको छ ।

यस प्रतिष्ठित पुरस्कारका लागि गरिएको पहल र अथक परिश्रमको लागि एसोसिएट प्रोफेसर मेडिकल अनकोलोजिस्ट तथा हेमाटोलोजिस्ट डा. सुलभ सापकोटाको भूमिका महत्त्वपूर्ण रहेको बताइएको छ ।

यो मान्यताले नेपाली स्वास्थ्य क्षेत्रमा क्यान्सर उपचार र प्यालिएटिभ केयरको गुणस्तर सुधार गर्न तथा अन्तर्राष्ट्रिय मानक अनुरूपको सेवा प्रदान गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×