
काठमाडौं । दक्षिण अफ्रिकाका स्टार ब्याटर फाफ डुप्लेसीले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्सबाट खेल्ने भएका छन् ।
टोलीले शुक्रबार सामाजिक सञ्जालमार्फत डुप्लेसी अनुबन्ध भएको जनाएको हो । यसअघि दिइएका हिन्टमा फाफ खेल्नेबारे चर्चा भएपनि तेस्रो हिन्टमा भने एबी डिभिलियर्सको फोटो पनि राखेर केही अलमल पारिएको थियो । चौथो हिन्टमा भने फाफले आईपीएलमा लखनउविरुद्ध खेल्दा प्रहार गरेको विशाल छक्कालाई देखाइएको छ, जहाँबाट फाफ नै उक्त खेलाडी भएको कुरा बुझिन्छ ।
अन्तत: फाफ डुप्लेसी नै अनुबन्ध भएको विराटनगरले आधिकारिक रूपमा जानकारी दिएको हो । उनले दक्षिण अफ्रिकाका लागि ५० खेलमा १५२८ रन बनाएका छन् । त्यस्तै समग्र टी-२०मा ४२४ खेलमा ११,९०६ रन बनाएका छन् । उनी विश्वका उत्कृष्ट फिल्डरमध्ये एक हुन् । उनले समग्र टी-२०मा २११ क्याच लिएका छन् ।


























