
काठमाडौं । नेपाली राष्ट्रिय कराँते खेलाडी एरिका गुरुङ शनिबार सम्मानित भएकी छन् । क्यानडामा बसोबास गर्दै आएका मनमैजु डोजोका प्रमुख प्रशिक्षक नीरज महर्जनले एरिकालाई सम्मान गरेका हुन् ।
मलेसियामा भएको डब्लुकेएफ कराँते सिरिज वानमा स्वर्ण पदक जितेकोमा हौसला स्वरूप एरिकालाई नगद ५० हजारसहित प्रशंसा पत्रबाट सम्मान गरिएको हो ।
एरिका डब्लुकेएफ सिरिज वानमा पदक जित्ने पहिलो नेपाली खेलाडी समेत हुन् । मनमैजुमा भएको कार्यक्रममा मनमैजु डोजोका अध्यक्ष तथा संयोजक विकास राजबाहक लगायतको उपस्थिति थियो ।
एरिकाले नोभेम्बर अन्तिममा इजिप्टमा हुने विश्व कराँते च्याम्पियनसिपमा समेत खेल्दै छिन् । एरिकाले विश्वविद्यालय कोटामा इजिप्ट यात्रा पक्का गरेकी हुन् ।
उनीसँगै एकल कातामा सानुमाया थिङ पनि विश्व च्याम्पियनसिपमा सहभागी हुँदै छिन् ।

























