
झापा । एलभिडी झापा महिला गोल्डकपको उद्ध्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ ।
झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा भएको खेलमा पुलिसले अर्काे एक डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडलाई ८–० को फराकिलो गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
पुलिसका तर्फबाट मीना देउवाले ५ गोल र रेखा पौडेलले ह्याट्रिक पूरा गर्दै प्रतियोगिताको अन्तिम चारका स्थान सुरक्षित पारे । रेखाले खेलको ३७ औँ, ८० औँ र दोस्रो हाफको इन्ज्युरी समयमा गोल गरिन् भने मीनाले खेलको ५१ औँ, ६० औँ, ६२ औँ, ६८ औँ र ८१ औँ मिनेटमा गोल गरिन् ।
खेलको ७ औं मिनेटमा पुलिसकी फरवार्ड रेखा पौडेलले ठुलो डिबक्सबाट गरेको प्रहार चर्चकी गोलकिपर करुणा बुढाथोकिले बचाएकी थिइन् ।
१५ औँ मिनेटमा चर्चले पहिलो अन टार्गेट सट लियो । २२ यार्डको दूरीबाट चर्चकी प्रतिक्षा मल्लको सट पुलिसकी गोलकिपर उषा नाथले सहजै कलेक्ट गरेकी थिइन् ।
१७ औँ मिनेटमा पुलिसकी फरवार्ड मीना देउवाले चर्चको डिफेन्डरलाई बिट गर्दै लिएको पावरफुल सट चर्चको पोष्ट नजिकैबाट बाहिरिएको थियो ।

२६ औँ मिनेटमा पुलिसले गोलको सुनौलो अवसर खेर फाल्यो । मीनाले चर्चकी गोलकिपर करुणालाई बिट गरे पनि सटलाई टार्गेटमा राख्न सकिनन् । ३५ औँ मिनेटमा चर्चले जवाफी अट्याक बुने पनि गोलको अवसर भने सदुपयोग गर्न सकेन ।
पुलिसको पेनाल्टी बक्सभित्र वर्षाले दिएको क्रसलाई प्रतिक्षा मल्लले फिनिस गर्न सकिनन् । ३७ औँ मिनेटमा पुलिसले खेलमा खाता खोल्न सफल भयो । दुई राष्ट्रिय खेलाडी कम्बिनेसनमा पुलिसले सुन्दर गोल गर्याे । केही दिनअघि मात्रै राष्ट्रिय टोलीमा डेब्यु गरेकी मीनाको क्रसमा रेखा पौडेलले सुन्दर फिनिस गरिन् ।
दोस्रो हाफको सुरुवाती समयदेखि चर्चविरुद्ध दबाब बनाएको पुलिसले ५१ औँ मिनेटमा मीना देउवाको गोलमा अग्रता दोब्बर बनाउन सफल भयो । चर्चको डिफेन्डर र गोलकिपरबीच राम्रो तालमेल नहुँदा मीनाले त्यसको फाइदा उठाइन् ।
५० औँ मिनेटमा मीनाले सुन्दर फिनिस गर्दै व्यक्तिगत दोस्रो तथा टोलीको तेस्रो गोल गरिन् । उनले सम्झना लावतीको पासलाई गोलमा परिणत गरिन् ।
त्यसको ५ मिनेट बित्न नपाउँदै मीनाले अर्को गोल थप्दै आफ्नो ह्याट्रिक पूरा गरिन् । पुलिसको लंगभली क्रसलाई चर्चकी गोलकिपर करुणाले राम्रो कलेक्ट गर्न नसक्दा मीनाले त्यसको फाइदा उठाउँदै टोलीलाई ४–० गोलको अग्रता दिलाउन सफल भइन् ।
६८ औँ मिनेटमा रेखाको सुन्दर क्रसमा मिनाले आफ्नो चौथो गोल गरिन् । ८० औँ मिनेटमा रेखाले ३० यार्डको लामो दूरीबाट गरेको सटले सिधै चर्चको जाली चुम्न पुग्यो । रेखाको उक्त सटमा चर्चकी गोलकिपरले कुनै मौका पाइनन् ।
त्यसको ३ मिनेट बित्न नपाउँदै मीनाले टोलीका लागि ७ औं तथा व्यक्तिगत ५ औं गोल पूरा गरिन् । खेलको अन्तिम समयमा रेखाले गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गर्दा टोलीलाई ८–० गोलको फराकिलो अन्तरको जित सुरक्षित गराइन् ।
खेलको प्लेयर अफ द म्याच पुलिसकी मीना देउवाले नगद १५ हजार र ट्रफी पाइन् । भोलिको दोस्रो क्वार्टर फाइनल खेल विभागीय टोली एपीएफ फुटबल क्लब र सिंग्लिङ स्पोर्टिङ क्लब सिक्किमबीच हुनेछ ।

























