
झापा । शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आजको (मंगलबार) दोस्रो क्वार्टरफाइनल खेलमा एपीएफ फुटबल क्लब र सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लब आमनेसामने हुँदैछन् ।
विगतका महिला गोल्डकपहरूमा लगातार उपाधि जित्न सफल एपीएफ यसपटक पनि मुख्य दाबेदारको रूपमा मैदानमा उत्रँदैछ । एपीएफका नियमित गोलरक्षक एन्जिला तुम्बापो, स्ट्राइकर सावित्रा भण्डारी र मिडफिल्डर प्रिति राई टोलीमा नहुँदा आक्रमण र गोलकिपिङमा केही असर पर्न सक्ने अनुमान गरिएको छ ।
पाहुना टोली सिंग्लिङ स्पोर्टिङ क्लब उत्साहित मनोबलका साथ मैदानमा उत्रने तयारीमा छ । भारतको एफसी कप खेलिसकेकी निमिता गुरुङ, मुस्कान सुब्बा र अन्डर–२० राष्ट्रिय टोलीमा खेलिसकेकी सिम्रन गुरुङसहितको टोलीको नेतृत्व प्रशिक्षक लाकु फुर्बी भुटियाले गर्नेछिन् ।
प्रशिक्षक भुटियाले खेलअघि पत्रकार भेटघाटमा भनिन्, “एपिएफ बलियो टोली हो, तर हामी आत्मविश्वासका साथ जितका लागि आक्रामक फुटबल खेल्न मैदानमा उत्रनेछौँ।”
एपीएफकी कप्तान अनिता बस्नेतले टोलीले अघिल्ला प्रतियोगिताको लयलाई निरन्तरता दिने लक्ष्य राखेको बताइन्। “हामी समन्वय, अनुशासन र योजनाबद्ध खेलमा विश्वास गर्छौं। उपाधि रक्षा नै हाम्रो मुख्य लक्ष्य हो,” बस्नेतले भनिन्।
एपीएफको अनुभव र रणनीति एकातिर, र सिक्किमेली टोलीको जोस तथा गतिशीलता अर्कोतिर। यी दुईबीचको प्रतिस्पर्धात्मक भिडन्त दुधे रंगशालामा आज दिउँसो २ बजेबाट सुरु हुनेछ।
गोल्डकपका अध्यक्ष सन्तोष थोप्राका अनुसार प्रतियोगिताको विजेताले नगद १० लाख १० हजार रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछन्। सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ प्रदान गरिनेछ, भने उत्कृष्ट विधाका खेलाडीहरू र उच्च गोलकर्ताले जनही २५ हजार रुपैयाँ पाउनेछन्।
प्रतियोगितामा विभागीय टोलीहरू त्रिभुवन आर्मी एफसी, एपिएफ एफसी, नेपाल पुलिस क्लबसहित कुल ८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।

























