
झापा । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकपमा पाहुना टोली सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबलाई हराउँदै विभागीय टोली एपीएफ फुटबल क्लब काठमाडौं सेमिफाइनलमा पुगेको छ ।
प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा एपीएफले सिक्किमलाई ७–० को फराकिलो गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलको सुरुवातदेखि नै बल नियन्त्रणमा राख्दै आक्रमणमा केन्द्रित एपीएफले २९ औँ मिनेटमा सविता राना मगरको गोलमार्फत अग्रता लियो । त्यसपछि ३८ औँ मिनेटमा अनिता बस्नेतले सरु लिम्बूले हेडर मिस गरेपछि बललाई फिनिस गर्दै दोस्रो गोल थपिन् ।
पहिलो हाफको इन्जुरी समयमा एपीएफले लगातार २ गोल थप्दै खेललाई आफ्नो पकडमा ल्यायो । ४१ औँ मिनेटमा रश्मिकुमारी घिसिङले गोल गरिन् भने त्यसपछि इन्जुरी समयमा अनिता बस्नेतले व्यक्तिगत दोस्रो गोल गरिन् । जससँगै पहिलो हाफ एपीएफको पक्षमा ५–० मा समाप्त भयो ।
दोस्रो हाफमा पनि एपीएफको आक्रमण रोकिएन । ७१ औँ मिनेटमा सविता राना मगरको क्रसमा अनिता केसीले गोल गर्दै अन्तर बढाइन् । ८४ औँ मिनेटमा अनिता केसीको पासमा रश्मिले गोल गर्दै ह्याट्रिक पूरा गरिन् र टोलीको सहज जित सुनिश्चित गरिन् ।
सिंग्लिङ स्पोर्टिङ क्लबका सुक्रिया मगरले २१ औँ मिनेटमा गरेको प्रहार एपीएफकी गोलरक्षक अञ्जना रानाले नियन्त्रण गरिन् भने ८० औँ मिनेटमा वान–भर्सेस–वानको अवसर पनि सुक्रियाले गुमाइन् ।
एपीएफका प्रशिक्षक जिवेश पाण्डेले टोलीले योजनाअनुसार खेल खेलेको बताए । खेलाडीहरूले सुरुदेखि अन्त्यसम्म सन्तुलित प्रदर्शन गरे र योजनाअनुसारको फुटबल देखाए, उनले भने ।
सिक्किमकी प्रशिक्षक लाकु फुर्बी भुटियाले भने हारलाई सिकाइको अवसरका रूपमा लिएको बताइन् । हाम्रो टोली युवा छ, आगामी खेलहरूमा सुधार गरेर फर्किनेछौँ, उनले भनिन् ।
खेलकी प्लेयर अफ द म्याच रश्मिले नगद १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरिन् । बुधबार (भोलि) हुने तेस्रो क्वार्टर फाइनलमा संकटा फुटबल क्लब काठमाडौँ र झापा एफसीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ ।
प्रतियोगिताको विजेता टिमले नगद १० लाख १० हजार रुपैयाँ पाउनेछ । त्यस्तै, उपविजेताले नगद ५ लाख रुपैयाँ पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख ५० हजार रुपैयाँ प्रदान गरिने गोल्डकपका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए ।

त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले नगद २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद १५ हजार र ट्रफी प्रदान गरिनेछ । प्रतियोगितामा ८ वटा टिम त्रिभुवन आर्मी एफसी, एपीएफ क्बल, नेपाल पुलिस क्लब, संकटा फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, झापा फुटबल क्लब र आरएस पोखरा फुटबल क्लब तथा भारत सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबले प्रतिस्पर्धा गर्दै छन् ।

























