
झापा । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकपमा संकटा फुटबल क्लब विजयी हुँदै सेमिफाइनलमा पुगेको छ ।
प्रतियोगितामा पाहुना टोली संकटाले घरेलु टोली झापा एफसीलाई ६–० को फराकिलो गोल अन्तरमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलको सुरुवातदेखि नै संकटाले आक्रमक खेल प्रस्तुत गरेको थियो । १३ औँ मिनेटमा राष्ट्रिय यु–२० खेलाडी सुक्रिया मियाँको प्रहारलाई झापाकी गोलकिपर सुजता तामाङले सजिलै कलेक्सन गरिन् ।
१५ औँ मिनेटमा अनिशा राईको २५ यार्ड दूरीको फ्रिकिक र २३ औँ मिनेटमा समीक्षा मगरको लङ–रेन्ज सट पनि सुजताले रोकिन् ।
तर, निरन्तर दबाब बनाइरहेको संकटाले २३ औँ मिनेटमा अग्रता बनायो । राष्ट्रिय खेलाडी पूर्णिमा राईको सटिक क्रसमा सेनु परियारले उत्कृष्ट फिनिसिङ गर्दै पहिलो गोल गरिन् ।
३० औँ मिनेटमा कप्तान यशोदा शाहीले पाएको फ्रिकिक सदुपयोग गर्न नसके पनि पहिलो हाफको इन्जुरी समयमा सुनिता भुलानको असिस्टमा समीक्षा मगरले गोल गर्दै संकटाको अग्रता २–० बनाइन् ।

दोस्रो हाफको सुरुवातमै संकटा अझ आक्रमक बन्यो । ५५ औँ मिनेटमा भुटानबाट अनुबन्धित विदेशी खेलाडी छिरिङ वांग्देनले पूर्णिमा राईको ब्याकहिल पासमा गोल गर्दै टोलीलाई ३–० को स्थितिमा पुर्याइन् ।
६१ औँ मिनेटमा पूर्णिमा राईले यु–२० सहकर्मी सेनु परियारको पासमा गोल गर्दै अन्तर ४–० बनाइन् ।
८३ औँ मिनेटमा रेनिसा शर्माको लङ रन क्रसमा उनले अर्को गोल थपिन् ।
नियमित समयको अन्तिम मिनेटमा अरुणा स्याङतेनले मैदान प्रवेश गरेको केही मिनेटमै गोल गर्दै संकटाको जित ६–० मा पक्का गरिन् ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेकी पूर्णिमा राई प्लेयर अफ द म्याच हुँदै १५ हजार र ट्रफी प्राप्त गरिन् ।
खेलपछि झापाका प्रशिक्षक सन्देश श्रेष्ठले तयारी अभावका कारण टोलीले अपेक्षित प्रदर्शन गर्न नसकेको प्रतिक्रिया दिए ।
संकटा क्लबका प्रशिक्षक रविन्द्र शिलाकारले भने टोलीले रणनीतिअनुसार खेल्दै सहज जित निकाल्न सफल भएको बताए ।

























