
बिर्तामोड । झापाको शिवसताक्षीस्थित दुधे रङ्गशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताले दर्शकहरूको अपार आकर्षण कायम गरेको छ। प्रतियोगिताको क्वार्टर फाइनल चरणसम्म आइपुग्दा टिकट बिक्रीबाट मात्र ११ लाख ४५ हजार रुपैयाँ बराबरको आम्दानी भएको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार स्थानीय तथा आसपासका जिल्लाबाट महिला फुटबल हेर्न रङ्गशालामा दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको छ । विशेषगरी महिला फुटबलप्रतिको बढ्दो चासो, स्थानीय खेलाडीको सहभागिता र विभागीय टोलीहरूबीचको रोमाञ्चक प्रतिस्पर्धाले दर्शकको आकर्षणलाई झनै बढाएको छ। विभागीय टोलीहरूले खेलेका खेलमा दर्शक सङ्ख्या उच्च रहेको थियो, जसले दुधे रङ्गशालालाई उत्साहित फुटबल माहोलले भरिएको बनाएको छ ।
आयोजक झापा महिला फुटबल प्रतियोगिता समितिका अध्यक्ष सन्तोष थोप्राले दर्शकको उत्साहले आफूहरूलाई थप जिम्मेवारी बढाएको बताए । उनले भने, ‘महिला फुटबललाई अझै मजबुत बनाउने हाम्रो लक्ष्य हो। टिकट बिक्रीबाट प्राप्त रकम प्रतियोगिता सञ्चालन, खेलाडी प्रोत्साहन र मैदान व्यवस्थापनमा प्रयोग गरिनेछ ।’
प्रतियोगिता आज र भोलि (शुक्रबार र शनिबार) सेमिफाइनल चरणमा प्रवेश गर्दैछ। आयोजकले सेमिफाइनलका लागि दर्शक टिकटको दर सामान्यतर्फ २०० र रु. ३०० तोकेको छ, भने भिआइपीतर्फको टिकट दर १,००० रहेको छ। प्रत्येक दिन दुई जना दर्शकलाई भाग्यशाली उपहारको व्यवस्था पनि गरिएको छ ।
प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ । महिला फुटबलको यो महाकुम्भमा विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँमा चित्त बुझाउनेछ । व्यक्तिगत पुरस्कारतर्फ सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।
उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी र उच्च गोलकर्तालाई जनही २५ हजार रुपैयाँ का दरले पुरस्कृत गरिनेछ। हरेक खेलको ‘प्लेयर अफ द म्याच’ ले १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् ।

























