
झापा । शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लब पुगेको छ ।
शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा पुलिस क्लबले संकटा फुटबल क्लबलाई २–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
खेलको सुरुवाती मिनेटदेखि नै दुवै टोलीबीच बराबरी प्रतिस्पर्धा देखिए पनि २४ औँ मिनेटमा पुलिसले कर्नर किकबाट गोलको अवसर पाएको थियो । पूजा रानाले दिएको कर्नरमा आएको सटलाई संकटाकी गोलकिपर सुशीलाकुमारी चौधरीले उत्कृष्ट बचाउ गरेकी थिइन् ।
३० औँ मिनेटमा संकटाले उत्कृष्ट मौका गुमायो । भुटानी खेलाडी छिरिङ वाङग्देनले दिएको क्रसमा पूर्णिमा राईले डिबक्सभित्रबाट हेडर गर्न खोजे पनि सफल हुन सकिनन् । पहिलो हाफको इन्जुरी समयमा पनि संकटाले अग्रता लिने मौका पाए पनि सेनुले दिएको क्रसमा छिरिङको सट गोलपोस्ट नजिकैबाट बाहिरिएको थियो ।
प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । यस संस्करणको प्रतियोगितामा पहिलो पटक पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो ।
७० औँ मिनेटमा पुलिसले खेलमा अग्रता बनायो । करिब ३० यार्ड टाढाबाट पूजा रानाले दिएको फ्रिकिकमा मीना देउवाले सटीक हेड मार्दै गोल गरिन् ।
त्यसपछि ८२ औँ मिनेटमा पुलिसले अग्रता दोब्बर बनायो । संकटाकी कप्तान यशोदा शाहीले बल क्लियर गर्न नसक्दा रेखा पौडेलले मौका सदुपयोग गर्दै दोस्रो गोल गरिन् ।
खेलको अन्तिम मिनेटमा फर्वाड सम्झना लावतीले वान भर्सेस वानको सुनौलो मौका गुमाइन् । इन्जुरी समयको अन्त्यतिर संकटाले सान्त्वना गोलको अवसर पाए पनि सेनुको सट गोलपोस्ट नजिकैबाट बाहिरियो ।
२–० को जितसँगै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ भने संकटा क्लब प्रतियोगिताबाट बाहिरिएको छ । खेलको प्लेयर अफ द म्याच पुलिसकी रेखा पौडेलले नगद १५ हजार र ट्रफी प्राप्त गरिन् ।

पुलिसले अब उपाधिका लागि फाइनलमा शनिबार (भोलि) हुने दुवै विभागीय टोली सशस्त्र प्रहरी बलको (एपीएफ क्लब) र त्रिभुवन आर्मीबीचको विजेतासँग सामना गर्ने छ ।
प्रतियोगिताको विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ र उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी र उच्च गोलकर्तालाई २५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिनेछ ।
हरेक खेलको ‘प्लेयर अफ द म्याच’ लाई १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिने व्यवस्था गरिएको छ ।प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ ।

























